भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा जारी सभामुख कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा इटहरी विजयी भएको छ । समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को आयोजनामा बुधबारबाट आयोजित प्रथम कोशी प्रदेश सभामुख कप फुटबल प्रतियोगिताको दोस्रोको खेलमा बिहीबार इनरुवा फुटबल क्लबलाई हराउँदै शान्ति स्पोर्टिङ युवा क्लब इटहरी सेमिफाइनलमा पुगेको आयोजक समितिका अध्यक्ष सेराज हुसेनले जानकारी दिए ।
निर्धारित समयमा शान्ति स्पोर्टिङ युवा क्लब र इनरुवा फुटबल क्लबबीच १/१ को बराबरी भएपछि दुवै टोलिका तर्फबाट ८ जना खेलाडीले प्यालेन्टी हानेको थियो जसमा इनरुवा फुटबल क्लब इनरुवाले ७ गोल गरेको थियो भने श्री शान्ति स्पोर्टिङ युवा क्लब इटहरीले ८ गोल गर्दै विजयी बनेको हो ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो । आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको सभामुख कप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ भने प्रतियोगिताको विजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद २५ हजार र उपविजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।







