सुनसरी । सुनसरीको दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाका हुन लागेको इज्तेमा पूर्वनिर्धारित समयमै गराउन सुनसरीका मुस्लिम अगुवाहरु पहलकदमी गरिरहेका छन् । सरकारले तत्कालका लागि इटहरी उपमहानगरको खनार र दुहबी नगरपालिकाको प्रास्टोकीमा हुन लागेको इज्तेमा रोक्न आदेश दिएपछि सोही फुकुवा गर्नका सुनसरीबाट मुस्लिम अगुवाको टोलिले काठमाण्डौ गई पहल गरिरहेका छन् । सोही क्रममा उनीहरू सोमबार साँझ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पूर्वनिर्धारित समयमै मुस्लिम समुदायको धार्मिक कार्यक्रम गराउनका लागि अनुरोध गरेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।
आफूहरूसँगको भेटघाटको क्रममा सभापति देउवाले मुस्लिम समुदायको धार्मिक कार्यक्रम भएकाले कुनै पनि बहानामा रोक्न नहुने भन्दै आफूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने भनी आश्वासन दिनुभएको उहाँको भनाइ छ । सुनसरीबाट काठमाडौ गएका मुस्लिम समुदायको अगुवाहरुमा कोशी प्रदेश साँसद हाजी इसराइल मन्सुरी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी , कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी , नेपाली कांग्रेसका नेताद्धय डा. अबुल हुसेन अन्सारी , हाजी अब्दुल मियाँ राइन , मेहदी हसन , नेकपा एमालेका नेता तैयब मियाँ राइन,पूर्व राज्यमन्त्री जाकिर हुसेन लगायत रहेका छन् । उक्त टोलिले सोमबार नै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग पनि भेटेर पहलका लागि ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पछि अध्यक्ष अन्सारीले पनि धार्मिक कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग पहल गर्ने आश्वासन दिएका छन् ।








