कोशी ब्यारेज । भारतीय भूमिमा एकजना नेपाली युवाको शव फेला परेको छ । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित कोशी ब्यारेज बस्ने महेश महतोको छोरा अन्दाजी वर्ष २२ का रोहित कुमार महतो मृत अवस्थामा भेटिएको स्थानीय प्रत्यक्षदर्शी बताएका छन् । कार्तिक ३० गतेदेखि बेपत्ता रहेकोेमा बेवारिसे अवस्थामा युवाको शव कोशी नदि क्षेत्रमा मंगलबार बेलुका माछा मार्नेले देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए ।
नेपाली युवाको भारतीय क्षेत्रबाट शव बरामद गरी भारतीय प्रहरीले पोस्टमार्टम गरी बुधबार दिउँसो परिवारलाई शव बुझाएको बताइएको छ । मृतकको अनुहार र शरीरमा चोटपटक देखिएको जनाइएको छ । कार्तिक ३० गते बिहान मृतक रोहित कुमार महतो र कोशी गाउँपालीका वडा नम्बर ८ स्थित कोशी ब्यारेज बस्ने केही युवाहरूबीच विवाद भएकोमा सोही दिन साँझ देखि रोहित कुमार महतो बेपत्ता भएका थिए । मृतकका आफन्तले दिएको जाहेरी अनुसार दुईजनालाई मंगलबार राती नै नियन्त्रणमा लिई अनुसन्धान भइरहेकोे सुनसरी प्रहरीले जनाएको छ ।