मिकाइल आलम
इनरुवा । सशस्त्र प्रहरी बलको नम्बर १ बाहिनी मुख्यालय पकलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेको छ । कोशी प्रदेशमा झापाको मेचीनगर नगरपालिका– ७ बाट सीमा स्तम्भ मर्मत गर्ने कार्य सुरु गरिएकोमा सुनसरीमा भने बिहीबार देवानगञ्ज गाउँपालीकाबाट सीमा स्तम्भको मर्मत गर्ने कार्य सुरु गरिएको हो ।

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ साविक कप्तानगञ्जको पाँचौंसिमरमा पर्ने १८९ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी सुनसरीमा सीमा स्तम्भको मर्मत सम्भार सुरु गरिएको हो । यो अभियान अन्तर्गत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन गर्नुका साथै हराएका सीमा स्तम्भको पहिचान गरेर सीमा स्तम्भ पुनर्निर्माण समेत गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेल, सशस्त्र प्रहरी सुनसरीका प्रमुख लकेश कुमार तुम्बाहाम्फे, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, भारतीय एसएसबीका सुरेन्द्र विक्रम,कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,भोक्रहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद लगायतको उपस्थिति रहेको थियो ।

सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले कोशी प्रदेशको झापा जिल्लाभित्रका ३१७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १३३ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीले जनाएको छ । कात्तिक १६ गते मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीले सीमाको मर्मत(सम्भार सुरु गरेकोमा अहिले देशैभर सशस्त्र प्रहरी बलले सीमा मर्मत सम्भार सुरु गरेको हो ।

नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम अहिले मर्मतको कार्य भइरहेको छ।








