मिकाइल आलम
सुनसरी । सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले सुनसरीमा ट्राफिक जनचेतनानामूलक कार्यक्रम संचालनमा ल्याइएको छ । सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालनमा ल्याइएको हो । अभियान अन्तर्गत पहिलो दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय र सुनसरी प्रहरी तथा हरिनगर गाउँपालीकाको संयुक्त आयोजनामा मंगलबार हरिनगरामा ट्राफिक जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरियो । हरिनगर गाउँपालिकाबाट थालिएको ट्राफिक जनचेतनामूलक कार्यक्रम जिल्लाका विभिन्न स्थानमा एक हप्तासम्म संचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
हरिनगरबाट प्रभातफेरी गरी उद्घाटन गरिएको सप्ताह व्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम अन्तर्गत मंसिर २७ गते तीब्र गति नियन्त्रण तथा पार्किङ निषेध, २८ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, २९ गते सिटी तथा इरिक्सा र स्कुल बसलाई प्रशिक्षण, ३० गते मापसे तथा लापसे चेकिङ, पुस १ गते चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच र २ गते अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समय बढ्दो अवस्थामा रहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले ग्रामीण भेगमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी बिपिन रेग्मी बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरिएको उनको कथन छ । अभियान अन्तर्गत हरिनगर गाउँपालीका अन्तर्गत रहेका विद्यालय एवं मदरसामा अध्ययनरत सयौं विद्यार्थी,शिक्षकशिक्षिका र अभिभावकहरूलाई ट्राफिक सचेतनामूलक जानकारी गराइएको हो ।
ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रमुख एसपी सरोज पौडेल भन्छन् ‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी अभियानको थालनी भएको छ,’ उनले भने, ‘यो अभियान गाउँ केन्द्रित हुनेछ । यसको थालनी हरिनगराबाट सुरु भएको छ ।’ अभियान अन्तर्गत गाउँहरूमा पुगेर स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रहरी समेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराइने ट्राफिक प्रहरीले जनाएको छ । ‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’
अभियानमा गाउँका प्रत्येक विद्यालय एवं मदरसाहरूमा ट्राफिक प्रहरी र नेपाल प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि संचालन गरिनेछ । ‘विद्यालय जाने बालबालिकाहरू कम उमरेका भएका कारण सवारी दुर्घटनामा पर्ने उच्च जोखिम वर्गमा पर्दछन्,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले भने, ‘ दुर्घटना हुनबाट जोगाउन तथा सडक सुशासन पालना गराउन र असल जिम्मेवार नागरिकको रुपमा विकास गर्नको लागि योजनाबद्ध रुपमा बालवालिका सुरक्षाका विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ । सडक सुशासन तथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवारी समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि संचालन गरिनेछ ।’