लौकही । सुनसरीको कोशी गाउँपालिका ५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ् । स्थानिय राष्ट्रिय शारदा आधारभुत बिधालयमा अध्ययनरत ९ वर्षका बालक कुन्दन सदाको ज्यान गएको । कक्षा -२ मा अध्ययनरत कोशी -५ कुम्याहीका कुन्दन सदालाई मंसिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा आइतबार सांझ ४ बजे कोशी अस्पताल बिराटनगरमा निधन भएको बताइएको छ । समयमै अस्पताल पुर्याएर उपचार गराउन नसक्दा बालकको ज्यान गएको स्थानीयको भनाइ छ ।
यता लोकेश सिंह भन्ने व्यक्तिले लगाएको उखु खेतीमा दिनहुँजसो जंगली जनावर आउने गरेको र सोही क्रममा स्यालको टोकाइबाट बालकको मृत्यु भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने अर्ना,बँदेल र स्याल बाट सर्वसाधारण जनता पीडित भएपनि यसबारे सम्बन्धित निकायले ध्यान नदिएको कोशी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष साह जमालले जानकारी दिए ।

यता कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहा निमित्त वरिष्ठ संरक्षण अधिकृत रमेशकुमार यादव भने पछिल्लो समय आरक्षबाट गाउँ पस्ने जंगली जनावर रोक्न आफूहरू लागिपरेको बताए । यसैगरी स्यालको टोकाइबाट बालकको मृत्यु भएपछि कोशी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्षले जानकारी गराएपछि गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी पीडितको घरमा पुगी पीडित परिवारलाई तत्काल आवश्यकता अनुसार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।








