विराटनगर । गृह मन्त्रालयले १६ जना डिआइजीको सरुवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो ।सरुवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्र कुबेर खापुङ आउने भएका छन् । कोशीका डिआइजी राजेशनाथ बास्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौंमा सरुवा भएको छ ।
यसैगरी मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार श्रेष्ठ, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कठायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ ।
कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सालमा इन्स्पेक्टरबाट सेवामा प्रवेश गरेका हुन् । उनले अपराध महाशाखा केरकारमा पनि इन्स्पेक्टर भएर काम गरेका छन् ।२०६४ सालमा उनी डिएसपी भए । डिएसपी भएर जिल्ला प्रहरी कार्यालय काठमाडौँमा पनि बसेका चन्द्रले काठमाडौँका विभिन्न वडागत युनिटहरूमा पनि सेवा गरेका छन् ।
चाप गाउँमा डिएसपी हुँदै दरबार मार्गको पहिलो डिएसपी भएर समेत उनले सेवा गरेका छन् । ०७४ सालमा उनी एसपी भएर जिल्ला प्रहरी कार्यालय बागलुङमा बसेका थिए । त्यसपछि उनी हेडक्वार्टर बसे । उनी हेड क्वाटरको कर्मचारी प्रशासन शाखामा २ वर्ष बसेका हुन् । ०७७ सालमा उनी एसएसपी बने । एसएसपीको भर्ना छनोटपछि उनी पुनः हेड क्वाटरमै बसे । त्यसपछि उनी उपत्यका अपराध महाशाखा हुँदै पुनः हेड क्वाटरमा आए । उनले बागमती प्रदेश कार्यालयमा बसेर समेत सेवा गरेका छन् । २०८० वैशाखमा डिआइजी बनेका उनको अब जागिर खाने समयावधि लगभग साढे २ वर्ष मात्र बाँकी छ ।








