कोशी । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि मनोजकुमार साहले गरिब तथा विपन्न समुदायका बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “समुदायमा नेपाली कांग्रेस” अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले कोशी गाउँपालीका वडा नम्बर ४ मा प्रतिनिधिको रूपमा पठाइएपछि त्यहाँको अवस्था बुझ्दै उनले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस कोशी गाउँपालीका वडा नम्बर ४ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पार्टीका अगुवा नेताकार्यकर्ता, कार्यसमिति एवं नेपाली कांग्रेसका कृयाशिल सदस्यहरुसँग वडास्तरबाट पार्टीलाई थप कसरी मजबुत बनाउने भन्ने छलफल गरेका थिए । सोही क्रममा कोशी गाउँपालीका वडा नम्बर ४ जुद्धगंजमा अवस्थित रहेको मदरसा मिताउल उलुमको निरीक्षण गर्दै महाधिवेशन प्रतिनिधि साहले अभिभावक गुमाएका सो मदरसामा अध्ययनरत १३ जना विद्यार्थीहरुलाई एकवर्ष सम्म पुग्ने गरी शैक्षिक सामाग्री तथा तयारी पोसाक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाली कांग्रेस कोशी गाउँपालीका वडा नम्बर ४ का सभापति तजमुल हुसेनले जानकारी दिए ।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुका साथै आवश्यकता अनुसार विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गरेर नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साहले सकारात्मक म्यासेज प्रवाह गरेको नेपाली कांग्रेस कोशी गाउँपालीकाका उपसभापति धर्मेन्द्र विश्वासको भनाइ छ् ।








