मिकाइल आलम
कोशी टप्पु । सुनसरी,सप्तरी र उदयपुर जिल्लामा गरी १७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । फेब्रुअरी २ तारीख अर्थात् शुक्रबार कोशी टप्पु लर्निङ ग्राउण्डका अध्यक्ष तथा संरक्षणकर्मी राजकुमार सिंहको अध्यक्षता एवं कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलको प्रमुख आतिथ्यमा यसवर्षको सिमसार दिवस मनाइएको हो । सोही अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख रमेशकुमार यादवले गन्नाको क्रममा पाइएका विभिन्न प्रजातीका चराहरुको नाम र संख्याको बारेमा जानकारी गराएका थिए ।
वातावरणीय संरक्षण र सिमसारको महत्वमा केन्द्रीत कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिदि कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य सदानन्द मण्डलले अव्यवस्थित दोहनसँगै मिचाहा प्रजातीको प्रकोप जस्ता कारणले सिमसार संकटमा परेकाले संरक्षणमा सबैको अपरिहार्यता आवश्यक रहेको बताए । कार्यक्रमका क्रममा सहभागीहरुले सिमसार आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोग, अव्यवस्थित माछा मारिनु र मानवीय कृयाकलापहरु प्रकृति र सम्पदा संरक्षण विपरित देखिएको बताए ।
उनीहरुले बढ्दो संकटको वेलैमा समाधान खोजिनु पर्ने औल्याए । कार्यक्रममा कोशी टप्पु लर्निङ ग्राउण्डका अध्यक्ष तथा संरक्षणकर्मी राजकुमार सिंहले बढ्दो चुनौतिसँगै सिमसार क्षेत्र संरक्षणको कार्य कठिन बन्दै गएको बताए । उनले मानवीय अतिक्रमण सँगै मानव सृजित क्रियाकलाप र अव्यवस्थित दोहनले सिमसार क्षेत्र मासिदै गएकाले संरक्षणमा ठोस योजनाको खाँचो रहेको बताए ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा संरक्षणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुले सिमसार संरक्षणको खाँचो र अपरिहार्यताका बारेमा धारणा राखेका थिए । उनीहरुले संरक्षणका सवालमा बेलैमा ठोस कदम चाल्न नसकिए सिमसारको अस्तित्व गुम्ने तर्फ चिन्ता व्यक्त गरेका थिए ।
सोही अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रममा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव, विभिन्न उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधि,कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।