भोक्राहा । भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ स्थित रहेको जामिया इस्लामियामा आयोजित कार्यक्रमका वक्ताहरुले मदरसा शिक्षामा ध्यान दिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । चार दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै उनीहरूले सो ध्यानाकर्षण गराएका हुन । स्थानीय तहमार्फत आफूहरूले सकेको सहयोग गर्दै आएको बताउदै भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजादले यद्यपि मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो गरे । उनले भने,‘हाम्रो मौलानाहरुलाई नेपाली पाठ्यक्रमको शिक्षक सरहको दरबन्दीको व्यवस्था हुन सकिरहेको छैन ।’
“१५ वर्षसम्म आफैं चन्दा सङ्कलन गरेर पढाएँ, केही वर्षयता थोरै भए पनि अनुदानबाट प्राप्त बजेटबाट तलब पाउन थालेको छु”, मदरसामा अध्यापन गराउने एकजना मौलानाले भने, “तलब थोरै छ, भन्न पनि लाजमर्दो छ, आफ्नो समुदायको स्कूल भनेर तलब नपाए पनि पढाउँदै आएको छु ।” योग्यताअनुसार मदरसा अध्ययन गराउने मोल्बी मौलानाहरुले तलब नपाएको कुरा यथार्थ भएको बताउदै अध्यक्ष अजमल अख्तर आजादले भने “मुस्लिमलाई अल्पसङ्ख्यक समुदाय भनेर हेलाँको दृष्टिले हेर्ने गरिएको छ, “न शिक्षक दरबन्दी छ, न अन्य भौतिक विकासका लागि बजेट छुट्याइन्छ ।” शिक्षक/कर्मचारीलाई पारिश्रमिकको समस्या मात्र होइन्, यहाँका मदरसाको भौतिक पूर्वाधारको अवस्था पनि दयनीय छ । ग्रामीण भेगमा संचालनमा रहेका अधिकांश मदरसामा कक्षा संचालनका लागि पर्याप्त कक्षाकोठा र भवन छैनन् ।