इनरुवा । सुनसरी सदरमुकाम इनरुवा आसपास क्षेत्रमा बेवारिसे व्यक्तिको उद्धार कार्यमा ´क्युआरसी` टीम इनरुवा सक्रिय बन्दै गएको छ ।
मानसिक अवस्था ठिक नभएकी एक वृद्ध महिलाको हरिनगर गाउँपालीका क्षेत्रबाट उद्धार गरेको ´क्युआरसी` टीम इनरुवाले शनिबार पुनः एक महिलाको उद्धार गरेको छ । बिहीबार हरिनगर गाउँपालीका वार्ड नं २ स्थित भुटाहा बजारबाट मानसिक सन्तुलन ठीक नभएकी कुलसुम रामको उद्धार गरेको ´क्युआरसी` टीम इनरुवाले शनिबार नाम र ठेगानासमेत बताउन नसक्ने अर्की एक बेवारिसे महिलाको उद्धार गरेको हो ।
समाजसेवी हजरत हुसेनका अनुसार मानसिकता अवस्था ठिक नभएकी भोक्राहा नरसिंह गाउँपालीका स्थित अँखामा क्षेत्रमा केहीदिनयता बस्दै आएकी ति महिलाको उद्धार गरिएको छ ।
स्थानीयबासीले बेवारिसे अवस्थामा रहेकी महिलाको बारेमा जानकारी गराएपछि ´क्युआरसी` टीम इनरुवाकी संयोजक अल्बिना प्रवीण नेतृत्वमा खटिएको सहसंयोजक मुकेश मेहता,आयान इराकीलगायतका टोलिका साथै समाजसेवी हजरत हुसेन, सुनसरी मोडेल हस्पिटलका रिजुल आलम,जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेल, जनप्रतिनिधि,स्थानीयबासीलगायतको सहयोगमा सो महिलाको उद्धार गरी माया घर ईटहरी नेपालको जिम्मा लगाइएको छ । उद्धार गरी माया घर इटहरीको जिम्मा लगाइएकी महिलालाई चिन्ने व्यक्तिले माया घर इटहरी वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न क्युआरसी` टीम इनरुवाले आग्रह गरेको छ ।
केही समय पहिले सदरमुकाम इनरुवा क्षेत्रबाट ´क्युआरसी` टीम इनरुवाले जनप्रतिनिधि,प्रहरीलगायतको सहयोगमा बेवारिसे अवस्थामा रहेकी एकजना बंगलादेशी महिलाको समेत उद्धार गरेको थियो । उद्धार पश्चात् ति महिलालाई बंगलादेश पठाउने प्रक्रियासमेत अगाडि बढाइएको छ । सदरमुकाम इनरुवालगायत ग्रामीण भेगमा मानसिक अवस्थाका साथै विभिन्न कारणले परिवारबाट टाढा भएका व्यक्तिको उद्धार कार्यमा ´क्युआरसी` टीम इनरुवाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको इनरुवा नगरपालिकाका मेयर राजन मेहता बताउँछन् । मानसिक अवस्थामा ठिक नभएका व्यक्तिलाई परिवारबाट अपहेलित न गरी समयमै उपचार गराउन मेयर मेहताले आग्रहसमेत गरे ।








