इनरुवा । सुनसरी जिल्लाको हरिनगर गाउँपालीका वडा नम्बर ३ स्थित गौतमपुर बस्ने जीवन मेहता माथि भुटाहा बजारमा भएको कुटपिट घटनापछि उत्पदन विवाद सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ ले जनाएको छ । मिश्रित समुदायको बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्त्वले सद्भाव बिगार्न खोजेको घटनाप्रति नेपाली कांग्रेस प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ ले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस सुनसरीले पनि शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खल्ल पुर्याउन सक्ने विषय प्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैति समग्र सद्भावका लागि सार्वजनिक अपील गरेको छ । परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौं, राष्ट्र निर्माण र विकासकालागी हातेमालो गर्दै आएका छौं नेपाली कांग्रेस प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

नेपालीको भावना र चाहना विपरित धार्मिक समाजिक सदभाव भडकाउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन । यसबाट उत्पन्न हुने धार्मिक, समाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्ने खोजेका दृश्य अदृश्य शक्तिहरुलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो उक्त प्रेस प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।
संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तिहरु एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न र घटनाको सत्य तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथ घटनाहरुमा घाइते भएकाहरुको उपचार गर्न र दोषीलाई करवाहीकालागि नेपाली कांग्रेसले मांग समेत गरेको छ । साथै, घटनाका आन्दोलनरत सबैपक्षलाई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न आग्रह गर्दै ईस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र तथा हिन्दु धर्मावलम्बीहरुको सिरुवा पर्वलाई मध्यनजर राख्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन नेपाली कांग्रेस प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ ले अपिल गरेको छ ।








