मिकाइल आलम
भण्टाबारी । नेपालबाट तस्करी गरी लगिएको चाइनिज स्याउ ठुलो परिणाममा बरामद भएसँगै सिल नाकाबाट कसरी स्याउ बोकेको ट्रक भारत छिर्यो भन्ने प्रश्न उब्जिएको छ ।
सुनसरीमा सिल गरिएको सिमानाकाबाट ठुलो परिणाममा ट्रकमा अवैध मालसामान तस्करी हुने गरेको गुनासो जनस्तरबाट पटकपटक आउने गरेपनि सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले भने आरोप निराधार भन्दै पन्छीदै आएका थिए । तर आइतबार बिहान सुनसरीको सिमानाकाबाट भारतीय बजारमा तस्करी गरि लगिएको चाइनिज स्याउ लोड भएको नेपाली नम्बर प्लेटका तीनवटा ट्रकसहित ८ जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको रहस्य खुलेको हो ।
नेपालबाट चाइनिज स्याउ लोड गरेर भारत छिरेका प्रदेश १–०२ –००१–ख ८०४१ नम्बर, ना ६ ख १५१२ नम्बर र ना ४ ख १८९५ नम्बरको ट्रकमा ४ सय ५१ कार्टुनका दरले १३ सय कार्टुन भन्दा बढी चाइनिज स्याउ भारतीय प्रहरीले विरपुर प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।
यति जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुरक्षा कमजोरी मध्यनजर गर्दै मातहतका सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी उपर छानविन र कारवाहीको निर्देशन दिएको जानकारी दिए । सिल भएको नाकाबाट ठुलो परिणाममा तस्करी हुनु गम्भिर भएको भन्दै प्रजिअ ढकालले आवश्यक अनुसन्धान गर्न सुरक्षानिकायलाई निर्देशन दिएको हुँदा अनुसन्धान पश्चात् दोषीलाई देखिनेलाई कडा कारबाही गरिने दाबी गरे ।
सीमा सिलहुँदा सुरक्षार्थ सिमाक्षेत्रमा सशस्त्र प्रहरी वलको बोर्डर आउट पोष्ट, नेपाल प्रहरीसहित सयौको सख्याँमा सुरक्षाकर्मीहरु परिचालित हुँदासमेत कसरी स्याउ भारत पुग्यो ? भन्ने प्रश्न सर्वत्र चासोको विषय बनेको छ । सिमानाकाबाट ठुलो परिमाणमा चाइनिज स्याउसहितको ट्रक बिरपुरबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएपछि सुनसरीका सुरक्षा निकायले सिमाक्षेत्रमा कार्यरत रहेका सुरक्षाकर्मीहरुलाई झिकाएर कारवाही थालेका छन ।
स्याउ तस्करीले उब्जाएको प्रश्न
जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहुँदै विगतदेखि नै प्रहरीकै संरक्षणमा तस्करी हुने गरेको पटकपटक गुनासो आउने गरेको छ । तर,यसबारे सम्बन्धित निकाय मौन बस्दै आएका गुनासो सुनिन्छ । जसले गर्दा एकातिर दिनहुँ लाखौंको राजस्व चुहावट हुने गरेको छ भने तस्करी हुने क्रम नरोकिदाँ कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको सीमा सिल प्रभावहीन देखिएको पुष्टि हुन्छ । दैनिक रूपमा लाखौं मूल्य बराबरको विभिन्न सामान भारतबाट साइकल र पैदलमार्गबाट सुरक्षाकर्मीकै संरक्षणमा ल्याउने गरिएको छ भने नेपालबाट ट्रक,पिकअप,मोटरसाइकललगायतका सवारीसाधन चाइनिज स्याउ,मरिच,सुपारी,मटर भारततर्फ तस्करी हुने गरेको छ ।
सीमा नाकाहुँदै तस्करी गराइएको तीनवटा नेपानी नम्बर प्लेटको गाडी र तीनवटा इन्डियन प्लेट नम्बरको गाडीसहित ठुलो परिणाममा चाइनिज स्याउ भारतीय प्रहरीले बरामद गरेको हो । प्रत्यक्षदर्शीले जानकारी गराएअनुसार सुनसरी जिल्लाको सीमा नाकाहुँदै तीनवटा गाडीमा लगिएको १३ सयभन्दा बढी कार्टुन चाइनिज स्याउसहित आठजना व्यक्ति पक्राउ परेका हुन । पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान भइरहेकोे भारतीय प्रहरीले जनाएको छ । पटकपटक सुनसरीको सीमावर्ती क्षेत्रहरुमा लकडाउनको समयमा तस्करी हुने गरिएको बारे समाचार प्रकाशित भएपनि यसलाई रोक्न नेपाली प्रहरीले तदारुकता देखाएको पाइदैन । सिमानामा खटिएका प्रहरीले के गर्दैछ् ?, के तिनीहरु तस्करी भएको हेर्दैनन्, हेरे भने तत्कालै किन समातिदैन ? दोषी को ?,कोरोना महामारीका बखत कसरी तीनवटा ट्रक त्यति ठुलो परिणाममा चाइनिज स्याउ बोकेर सीमा कट्यो ?,ति तस्करीमा को को संग्लन छन् ? के तिनीहरुलाई कारबाही होला त? भन्ने खालका प्रश्न उठेको छ । अन्यथा भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रहरूबाट अवैध रूपमा हुँदै आएको तस्करी नियन्त्रणमा अहिले चासो र गम्भीर भएन भने राजस्व असुलीमा थप कमि आउने अनुमान गर्न सकिन्छ ।










