सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको आर्थिक अनियमितताबारे छानविन गर्न माग गरेको भन्दै यहाँ कार्यरत एक डाक्टरलाई जागिरबाट निस्काशन गर्ने धम्की आएको भन्दै प्रतिष्ठानका चिकित्सक आन्दोलित भएका छन् ।
प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्ट्रचारको छानविन गरी दोषि उपर कारवाही गर्न माग गरेका थिए ।
पोखरेलले भ्रष्टाचारको छानविन गर्न माग गरेपछि आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धिका सबै कागजपत्र नियन्त्रणमा लिएको थियो ।
अख्तियारले प्रतिष्ठानमा छापा मारेको भोलिपल्ट सोमबार प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेललाई जागिरबाट निस्कासन गर्ने धम्की दिएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेका छन् ।
आर्थिक अनियमितताले धरासायी बनेको प्रतिष्ठान बचाउन थालिएको अभियानलाई हस्तक्षेप गरी डाक्टरलाई जागिरबाट निस्काशन गर्न धम्की दिएको भन्दै प्रतिष्ठानका चिकित्सक मंगलबारदेखि आन्दोलित भएका छन् ।
आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषिलाई कडा कारवाही गर्न र प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई बर्खास्ती गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।








