लौकही । कोशी गाउँपालीकाको आयोजनामा “कोशी टप्पु वन्यजन्तु आरक्ष” विषयक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको चित्रण गर्ने उद्देश्यले आयोजना गरिएको चित्रकला प्रतियोगिता बिहिवार कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त चित्रकला प्रतियोगितामा कोशी गाउँपालीका क्षेत्रका विभिन्न पाँच वटा माध्यमिक विद्यालयका १० जनाले सहभागिता जनाएका थिए भने सो चित्रकला प्रतियोगितामा राष्ट्रिय मावि शोभनपुर कोशी ३ को कक्षा ९ मा अध्ययनरत यशोधर राम प्रथम भए भने राष्ट्रिय मावि श्रीपुर कोशी ६ की दिपा शर्मा दोस्रो र सोहि विद्यालयकी किरणकुमारी यादव तृतीय भएको कार्यक्रम संयोजक राष्ट्रिय मावि शोभनपुर कोशी ३ का प्रअ हरेकृष्ण राउतले जानकारी दिए।
उक्त चित्रकला प्रतियोगितले विश्व रामसार सुचिमा सृचिकृत कोशी टप्पुको जैविक विविधताको देखाउने तस्विरहरु चित्रकलामा सहभागी विद्यार्थीहरुले प्रस्तुत गरेको कोशी गाउँपालिकाका सामाजिक शाखाका बिरेन्द्र मेहताले जानकारी दिए ।
प्रथम,दोस्रो र तेस्रोसँगै अन्य विजयी प्रतियोगीहरुलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल, लेखा अधिकृत सूरप्रसाद दंगाल, धर्मेन्द्र विश्वास , प्रअ हरेकृष्ण ,योजना शाखा प्रमुख एकराज पोखरेल, प्रशासन शाखा प्रमुख बिनोद मिश्र , जिंशी शाखा प्रमुख श्याम किशोर मण्डल लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कारसँगै सिल्ड,मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भित्र लुकेको प्रतिभा बाहिर ल्याउदै कोशी टप्पुको विशेषता झल्काउने अभिप्रायले चित्रकला प्रतियोगिता आयोजना गरेको बताए ।
चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता राणा मगर, कृषी शाखा प्रमुख सोनु कुमार यादव र राजेश कुमार राउत रहेका थिए ।
शुक्रवार कृषी विषयक निम्न मावि स्तरीय चित्रकला प्रतियोगिता हुने जनाइएको छ ।