भण्टाबारी । पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण विभिन्न नदी तथा खोला बढ्दा त्यसको प्रभाव सप्तकोसीमा परेको हो । सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
सातवटा विभिन्न नदी तथा अरु कैयौं खोलाहरु मिसिएको सप्तकोसीमा आज (बुधबार) बिहानसम्ममा पानीको बहान ६१ हजार एक सय ४५ क्यूसेक मापन गरिएकोमा राति ८ बजेको मापनअनुसार पानीको बहाव ९४ हजार १२५ क्युसेक पुगेको छ । सप्तकोसी नदिमा पानीको बहाव बढेपछि ५६ वटामध्ये अहिले १६ वटा ढोका खोलिएका छन् ।
अवस्था हेरेर अरु ढोका खोल्ने बारे निर्णय लिइने सुनसरी प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले पहाडी क्षेत्रमा जारी निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाइएको जनाएको छ । आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानलाई आग्रह गरिएको छ । पानीको बहाव बढ्दै गइरहे पनि सप्तकोसीमा खतराको अवस्था भने आइसकेको छैन । खतराको तहसम्म पानी नआए पनि सम्भावित क्षतिका बारेमा पूर्वतयारी थालिएको प्रशासनले जनाएको छ ।








