लौकही । सामुदायिक बिद्यालय सुधार अभियानमा लागेका कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले शिक्षा क्षेत्र सुधारमा आफू कमप्रमाइज नगर्ने बताएका छन् । कोसी गाउँपालीका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।
आफू निर्वाचित भएदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सुधारका साथै आवश्यकता अनुसार शिक्षकको व्यवस्था गर्दै पूर्वाधार विकासको लागि पहल गर्दै आएको अध्यक्ष अन्सारी बताउँछन् । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको खस्कँदो मोहलाई बढाउन आफूले शिक्षा ऐन र नियमावली निर्माण गरी सुधारको पहल थालेको उनले बताए ।
कोसी गाउँपालीकाले प्रअ,व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक र सरोकारवालासँग छलफल गर्दै शिक्षकलाई सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने र जनप्रतिनिधिले समयसापेक्ष शिक्षा क्षेत्रको अनुगमन गर्ने गरी काम थाल्न अध्यक्ष अन्सारीले निर्देशन दिए ।
संविधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल गर्दै आएको उनको दाबी छ । कोसी गाउँपालीकाले गाउँपालीका क्षेत्रमा संचालित सामुदायिक विद्यालयमध्ये श्री राष्ट्रिय माद्यामिक बिद्यालय शोभनपूरमा अंग्रेजी माध्यमबाट पढाइ थालिएको र अन्य सामुदायिक बिद्यालयमा यसको सुरुवात गर्ने आफ्नो योजना रहेको अध्यक्ष अन्सारी बताउँछन् । कम्तीमा आधारभूत तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाटै गराउन सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरिएको हो ।