लौकही । भोक्राहा नरसिंह गाउँपालीकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । भोक्राहा नरसिंह गाउँपालीका कार्यालयले आफ्नै सभा हलमा शनिबार आयोजित गाउँ सभाको १६ औं अधिवेशन कार्यक्रमका बीच आगामी आर्थिक वर्षको लागि अनुमानित ४९ करोड ४९ लाख ९२ हजार ५०० रुपैयाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
भोक्राहाको नीति तथा कार्यक्रम अध्यक्ष अजमल अख्तर आजादका साथै प्रत्येक वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,कर्मचारी,सरोकारवाला लगायतको उपस्थितिमा उपाध्यक्ष सुनिताकुमारी उराँवले प्रस्तुत गरेकी थिइन । चालु खर्चतर्फ १० करोड ९४ लाख ७५ हजार र पुजिगत सुधार तथा सार्वजनिक निर्माण खर्च १५ करोड ६२ लाख ४० हजार लगायत गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।
वार्षिक बजेट निति तथा कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अजमल अख्तर आजादले आगामी वर्षका लागि गाउँपालीकाले कृषि,शिक्षा,स्वास्थ्य तथा रोजगार लाई मुख्य प्राथमिकता राखेको बताए । आफू निर्वाचित भएदेखि पहिलो दुई वर्षसम्म मुख्य गरी पूर्वाधार विकासलाई बढी प्राथमिकतामा राखेर काम गरेकोमा हरेक वडा वडामा पक्की बाटो पुर्याउन सफल भएको उनको भनाइ छ ।
अब भने शिक्षा,स्वास्थ्य,कृषि र रोजगारका क्षेत्रलाई बढी प्राथमिकता राखेर काम गर्ने हिसाबले निति तथा कार्यक्रम प्रस्तुत गरेको बताउदै अध्यक्ष आजादले संघीय सरकारले आफूहरूले अपेक्षा गरेअनुसार बजेट उपलब्ध गराइदिएको अवस्थामा निति तथा कार्यक्रम कार्यान्वयन गर्न केही सहज हुने बताउँछन् ।
आफू निर्वाचित भएपछि शिक्षा क्षेत्र सुधार गर्न विशेष अभियान चलाउनेदेखि गरिब तथा विपन्न वर्गका सर्वसाधारण जनतालाई प्राथमिकता राख्दै प्रभावकारी तवरबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सफल भएको उनको भनाइ छ । यस्तै किसानका समस्या समाधान गर्न आफू कटिबद्ध भइ लागेको स्मरण गराउदै अध्यक्ष आजादले यसवर्ष जस्तै आगामी आर्थिक वर्षमा समेत किसानको आवश्यकतालाई मध्यनजर गर्दै कृषि सामाग्री वितरण गर्नेदेखि लिएर सिचाइको समस्या समाधान गर्ने बताउँछन् ।
भोक्राहा नरसिंह अध्यक्षमा अजमल निर्वाचित भएपछि चौतर्फी विकास निर्माणकार्यले गति लिएपछि सर्वसाधारण जनता लाभान्वित भएको भन्दै कार्यक्रमका वक्ताहरुले उनको प्रशंसा गरेका थिए । उक्त कार्यक्रम गाउँपालीकाका स्वास्थ्य शाखा प्रमुख हिरा साहले संचालन गरेका थिए विभिन्न बिधाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।