विराटनगरमा गाँजा कारोबारीका एक गिरोहले लुकाएर राखेको १८ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
विराटनगर महानगरपालिका-६ ब्रह्मपुरा स्थित एउटा घरबाट शुक्रबार दिउँसो प्रहरीले गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततिर अवैध रूपमा गाँजा ओसारपसार र कारोबार गर्ने गिरोहका तीन जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारतीय नागरिक सोनु यादव, सुनसरी देवानगञ्ज गाउँपालिकाका रन्जित कुमार यादव र धनकुटा घर भएका रुद्र राई रहेका छन् ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुले घरभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले गाँजा लुकाएको घर कसको हो भन्ने खुलाएको छैन । तर गाँजा भारत कटाउनका लागि धनकुटाबाट विराटनगरसम्म ल्याइएको पाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषध गाँजाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । प्रहरी हिरासतमा रहेका रन्जितले गाँजा कारोबारका लागि मध्यस्थकर्ताको भूमिका खेल्ने गरेको खुलेको छ ।
धनकुटाको छिन्ताङबाट गाँजा झिकाएर भारतीय कारोबारीसँग सम्पर्क गर्दै बिक्री गर्ने धन्दामा उनको संलग्नता देखिएको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए ।
उनका अनुसार रन्जितले धनकुटाका चन्द्र र भारतीय नागरिक सोनुसँग सम्पर्कमा रहेर गाँजा कारोबारको मध्यस्थता गर्ने गरेको पाइएको छ । माग अनुसार धनकुटाबाट चन्द्रले ‘सप्लाई’ गर्ने गाँजा रन्तिजले सोनुमार्फत भारत पुर्याउने गरेको फेला परेको प्रहरी स्रोतले बताएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको डीएसपी राईले बताए । अनुसन्धान पश्चात गाँजा कारोबारका बारेमा विस्तृत विवरण प्राप्त हुने उनको भनाइ छ । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।








