इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मंगलबारबाट लागू हुने गरी सुनसरीमा निषेधाज्ञालाई खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सोमबार बसेको डीसीसीएमसीको बैठकको निर्णय
अनुसार भोलि मंगलबारबाट सबै पसल बिहान ५ बजेबाट दिउँसो १२ बजेसम्म खोल्न दिइने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । गुद्री, सब्जी मण्डी र हाटबजार भने खोल्न नपाइने प्रजिअ ढकालको भनाइ छ । त्यसैगरी होटल रेष्टुरेन्टको हकमा होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाइनेछ
सुनसरी प्रशासनले दुधडेरी, सब्जी, खाद्यान्न, पशुजन्य आहार ढुवानीका साथै कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य, ढुवानीका साधन भने निर्वाध सञ्चालन गर्न पाईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले डीसीसीएमसीको बैठकपश्चात् जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्य निर्णयको हकमा भने यस अघिको सरह लागु रहनेछ । बैठकको पछिल्लो निर्णयसँगै सुनसरीमा जारी निषेधाज्ञाको अवधि भने असार १४ गतेसम्म बढाइएको छ ।








