भण्टाबारी । सुनसरी जिल्लामा पछिल्लो समय गाँजा तस्करी बढेको पाइएको छ । पहाडी जिल्लाबाट ल्याइने गाँजा सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा नै यस्तो कारोबार हुँदै आएको श्रोतको दाबी छ । यसैक्रममा सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट ठुलो परिणाममा नेपाल प्रहरीले गाँजा बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिशेष सूचनाका आधारमा सोमबार मध्यरातमा कोशी गाउँपालिका वडा नं.८ स्थित सीमावर्ती क्षेत्रबाट सो गाँजा बरामद गरिएको हो । श्रोतका अनुसार नेपालबाट तिनकुने नाका भई HR 26 B 09904 नंम्बरको भारतिय स्कारपियो गाडीमा लोड गरी भारततर्फ लैजादै गरेको अवस्थामा ३३६ केजी गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले चेकजाँच गरिरहेको देख्नसाथ गाडी छोडी चालक भागेको सुनसरी प्रहरीको दाबी छ । उक्त गाडी शंका लागी कानून बमोजिम चेकजाँच गर्दा कालो,सेतो,हरियो प्लाष्टिकले बेरेर राखेको १० (दश) बोरा लागू औषध गाँजा फेला पारी उक्त गाडी सहित लागूऔषध बरामद गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । पछिल्लो समय कोशी ब्यारेज र भण्टाबारीको नाका भई भारततर्फ गाँजा तस्करी हुने गरेको श्रोतको दाबी छ ।








