भण्टाबारी । सरकारी अनुदानको रासायनिक मल नपाएपछि सीमावर्ती क्षेत्रका किसान भारतीय मल र बिउको भरमा खेती गर्नुपर्ने बाध्यता छ । समयमै मल नपाएपछि सीमावर्ती क्षेत्रका किसान भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल र बीउ चर्को मूल्य किनेर खेती गर्न बाध्य छन् । सरकारी अनुदान पाइने भनिएको रासायनिक मल र बीउ कहिले हामीले पाएका छैनौं देवानगंज गाउँपालीका क्षेत्रका किसान दिलीपकुमार मेहताले भने । वर्षौंदेखि यहाँका किसान भारतीय बजारबाट ल्याइएको बीउ र रासायनिक मल नै प्रयोग गर्दै आएका छन् ।
नेपाली बजारमा नपाएपछि सीमावर्ती क्षेत्रका किसान जिल्लाका विभिन्न सीमा नाकाहुँदै भारतीय बजार बसमतिया,बीरपुर,फुलकहा,भीमनगरलगायत क्षेत्रबाट डिएपी, युरिया,पोटासलगायतका रासायनिक मल आयत गरिरहेका छन् । सीमावर्ती बजारबाट चोरबाटो प्रयोग गर्दै ल्याउनेहरु किसानलाई महगो मूल्य बिक्री गरिरहेका पाइन्छन् । हामीलाई त समयमा मल चाहियो किसान कामैतले अगाडि थप्दै भने सरकारी अनुदानमा मल न पाउदा जति पैसा भनेपनि मल किन्नै पर्यो । अनुदानको मल र बीउ सहकारीमार्फत व्यापारीको हातमा जाने भएकोले यहाँका अधिकांश किसान भारतीय मलमाथि निर्भर रहेका हुन ।
जिल्लामा मल अभाव भएको गुनासो आइरहदा भारतबाट मल तस्करी भइरहेको हो । भारतीय बजारबाट तस्करी गरी ल्याइने मल सीमावर्ती क्षेत्रका किसानले प्रयोग गरिरहेका छन् । नेपाली बजारमा पाउन छाडेपछि भारतीय बजारबाट रासायनिक मल तस्करी गरिएको किसानहरू बताउँछन् । कतिपयले त्यसरी तस्करी गरी ल्याएको भारतीय मल धान खेतमा छरिरहेका हुन्छन् भने कतिपय भने त्यसरी ल्याएको मल नेपाली बजारमा महगो मूल्यमा बेचिरहेका छन् । मल अभाव भइरहेको फाइदा उठाउदै सीमावर्ती क्षेत्रका युवा भारती मल तस्करीमा लागेका छन् । त्यसरी तस्करी गर्ने युवा आफूहरू तस्करी नभई नेपाली किसानलाई सहयोग पुर्याएको दाबी गर्छन् । पारी भारतीय बजारबाट १ हजारदेखि १२ सय भारुमा ल्याउने ५० केजी डिएपीलाई वारि नेपालमा २३ सयदेखि २५ सयमा बिक्री भइरहेको छ । त्यस्तै भारतमा ३०० देखि ३५० भारुमा पाइने युरिया नेपालमा ८०० देखि ९०० सम्म पर्ने गरेको छ । केही किसानले आफैं भारतीय बजारबाट मल ल्याउने गरेपनि अधिकांश अवैध रूपमा भारतबाट भित्रीने गरेको छ । खुल्ला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भित्र्याउने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् । किसानलाई भारतबाट मल ल्याउन छुट दिएपनि किसानका नाममा दैनिक अवैध रूपमा मल भित्र्याउनेलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको प्रहरी बताउँछ ।
किसान भन्छन् पहुँवालाले पाउँछन्
नेपाली मल पर्याप्त नपाएको कारण भारतीय बजारबाट मल ल्याउने गरिएको अर्का किसान दाउद अन्सारीले बताए । मल र बीउ भारतीय बजारबाट ल्याएर खेती गर्दै आएपनि सिचाइ सुविधा समेत नहुँदा सोचअनुसार उत्पादन हुँदैन उनले भने धान र गहुँ खेतीको उर्वरभूमिका किसानले सिचाइ सुविधा पाउदैनन्, सरकारले अनुदानमा दिने मल र बीउ हुने खाने, पहुँवालाले पाउछन् । सरकारले कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेपनि खेती लगाएको समयमा किसानहरुले मलका लागि हैरानी खेप्नुपरेको छ । भारतीय बजारबाट बीउ र मल भित्र्याउदा कमसल भएकोले उत्पादनमा समेत कमि आउने गरेको हो । प्रयाप्त सिचाइ सुविधा नभएपनि मनसुन समयमै सुरु भएकोले धान राम्रै उत्पादन हुने अनुमान गरिएको छ ।
वास्तविक किसानलाई अनुदानमा वितरण गर्नुपर्नेमा सहकारी संस्थाहरुले त्यसो नगर्ने र भनसुनका आधारमा वितरण गरेकाले सीमावर्ती क्षेत्रका किसानले स्वदेशमै मल पाउन नसकेको अन्सारीको कथन छ । केही किसानले अनुदान मार्फत आएको बीउ र मल पाएपनि केहीले निजी उत्पादन कम्पनी र अधिकांशले भारतीय बजारबाट भित्र्याउने गरेका छन् ।









