लौकही । जितिया पर्वको उपबासमा रहेका ब्रतालु महिलाहरुलाई मध्यनजर गर्दै कोशी गाउँपालीकाको कार्यालयले वडा वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ । ब्रतालु महिलाहरुको आकस्मिक स्वास्थ्योपचारका कोशी गाउँपालीकाको वडा वडामा घुम्ती स्वास्थ्य उपचार टोली खटाएको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले जानकारी दिए ।
कोशी गाउँपालीकाले आयोजना गरेको जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले गरेको प्रतिबद्धता अनुसार मंगलबारदेखि १५ जना स्वास्थ्यकर्मीको टोली ८ वटै वडामा परिचालन गरिएको उनको भनाइ छ । गाउँपालीका अध्यक्ष अन्सारीको निर्देशनअनुसार ब्रतालु महिलाहरुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली घर घर पुगेको बताउदै प्रमुख प्रशासकीय अधिकृत दाहालले प्राथमिक उपचार घरमै गर्ने व्यवस्था मिलाइएको र आवश्यक परेको अवस्थामा बिरामीको अवस्था हेरी थप उपचारको लागि अस्पताल पुर्याउने काम भईरहेकोे बताए ।
सोही क्रममा घर घरमा पुगेको स्वास्थ्यकर्मीको टोलीले कोशी गाउँपालीका वडा नम्बर २ बस्ने सुमित्रादेवी पासावान लाई घरमै प्राथमिक उपचार गरी आवश्यक थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको उनको भनाइ छ । यसरी गाउँपालीकाको कार्यालयले प्राथमिक उपचार गर्नेदेखि लिएर आवश्यक थप उपचार गर्नेका साथै चिकित्सकको सल्लाहअनुसार औषधि पनि निशुल्क रूपमा उपलब्ध गराइने व्यवस्था मिलाएको छ ।
मिथिला क्षेत्रमा ‘जितिया पर्व’ सुरु भएको हो । पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ सुनसरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार सुरु भएको हो । जनताको आवश्यकता अनुसार आफ्नो नेतृत्वमा विकास निर्माणकार्य देखि लिएर यस्ता धार्मिक गतिविधिलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम गर्दै आएको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।
श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा सोमबार ओंगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५:१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ ।तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा सोमबार नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरू मंगलबार बिहान ४ बजेदेखि मंगलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभर उपवास बस्नुपर्ने छ । बुधबारकै दिन साँझ ५:१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ ।