विराटनगर । कार्य सम्पादन मूल्यांकनका आधारमा मोरङमा कार्यरत दुईजना प्रहरी जवान पुरस्कृत भएका छन् ।
नेपाल प्रहरीका जवान राजेशकुमार यादव र ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेठ महिनामा प्रदेशकै उत्कृष्ट हुँदै पुरस्कृत भएका हुन् ।
प्रहरीको मनोवल उच्च बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान एवं ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनीहरुलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत यादवलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । जघन्य प्रकृतिका अपराधका फरार प्रतिवादीलाई पक्राउ, चोरी तस्करी नियन्त्रण लगायतमा उनी अब्बल देखिएका छन् ।
भन्सार छली, अवैध चोरी निकासी तथा पैठारीका सामान नियन्त्रणमा लिने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा २०७८ साल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी (वेस्ट पुलिस अफ दी मन्थ) घोषणा गरिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।
प्रदेश १ प्रहरी कार्यालयले प्रदेशभरी कार्यरत प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्ने गर्छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गर्दै उनीहरुले गरेको उत्कृष्ट कार्यविवरणसहितको फ्लेक्स प्रिन्ट प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशअन्तर्गत रहेका ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राख्ने गरिएको छ ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभा दरबन्दी भएर मोरङमा कार्यरत ट्राफिक जवान लोकबहादुर कार्की जेठ महिनाको ‘उत्कृष्ट’ घोषित भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले कार्कीलाई कार्य सम्पादनका आधारमा जेष्ठ महिनाको उत्कृष्ट घोषित गरेको हो ।
विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ढंगबाट ट्राफिक जनचेतनामूलक प्रशिक्षणमा उल्लेखनीय भूमिका खेलेका कारण कार्कीलाई उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।








