हरिपुर । कोशी गाउँपालीकामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ । आइतबार नेपाली कांग्रेसले कोशी गाउँपालीका वडा नम्बर ७ मा आयोजना गरेको वडा अधिवेशन कार्यक्रममा सयौं जनाले कांग्रेस पार्टी रोजेका छन् ।
नेकपा एमालेबाट कोशी गाउँपालीका क्षेत्रका प्रभावशाली नेता जितेन्द्र खेरवारको नेतृत्वमा नेकपा एमालेका प्रभावसाली युवा नेता धीरेन्द्र पाठक लगायत गरी १९२ जना र नेकपा माओवादी केन्द्र कोशी गाउँपालीका क्षेत्रका दलित अगुवा श्याम सदाको नेतृत्वमा नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी परित्याग गरी २६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममार्फत कांग्रेस प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेता कार्कीले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कोशी गाउँपालीका क्षेत्रमा कांग्रेसको नेतृत्वमा भएको विकास निर्माणकार्यका कारण कांग्रेसप्रति आकर्षण बढ्नु स्वभाविक भएको बताए ।
जनताका आवश्यकता अनुसारका माग र अपेक्षा पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउदै उनले ईमानदार भएर पार्टीलाई बलियो बनाउनका लाग्न स्थानीय नेताकार्यकर्तालाई निर्देशन समेत दिए । नेता कार्कीले भने, कांग्रेसमा उहाँहरुले धेरै अपेक्षा गर्नुभएको छ । जिल्लाबासीको हरेक समस्यामा साझेदार बन्न कांग्रेस तयार छ । जिम्मेवारी र कर्तब्य पूरा गराउन म प्रतिवद्ध छु ।’
नेपाली कांग्रेस कोशी गाउँपालीका वडा नम्बर ७ का सभापति मोहन झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ संगठन विभाग प्रमुख तथा कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, महाधिवेशन प्रतिनिधि मनोज साह,नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरी, क्षेत्रीय सदस्य साह जमाल, नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका १० सभापति तेजबहादुर गुरुङ, जनार्दन पण्डित, प्रमोद खेरवार लगायतले बोलेका थिए भने कार्यक्रममा नेपाली कांग्रेस कोशी गाउँपालीका उपसभापति धर्मेन्द्र विश्वासले संचालन गरेका थिए ।