मेडिकल ब्यवसायी दुर्गा प्रसाईं सवार गाडीकाे ठक्करबाट घाइतेकाे उपचारकाे क्रममा मृत्युु भएकाे छ । प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले कात्तिक २५ गते काेशी गापा ३ नहर चाेकमा २ वटा माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करबाट दुईजना घाइते भएकाेमा काेशी ३ का ६० वर्षिय फुलेश्वर मेहताकाे शुक्रवार उपचारका क्रममा मृत्यु भएकाे हाे ।
मृतक परिवारका अनुसार दुर्घटना लगत्तै बिरामीलाई दाहिने खुट्टा र हातमा चाेट लागेकाे अवस्थामा भाेक्राहा नरसिंहमा रहेकाे सप्तकाेशी न्यूराे अस्पतालमा भर्ना गरिएकाे थियाे । सामान्य रहेका बिरामीको थप उपचार गर्नु पर्ने भन्दै अस्पताल टिमले अप्रेसन कक्षमा लगेकाेमा बिरामीकाे अवस्था बिग्रेकाे भनी जानकारी गराएकाे मृतक पक्षकाे भनाई छ । सप्तकाेशी न्यूराेले बेहाेस गराउने ओैषधीकाे मात्रा बढी चलाउँदा बिरामीको अवस्था गम्भीर भएकाे र साेही कारण मृत्यु भएकाे मृतक पक्षकाे दाबी रहेकाे छ । अवस्था गम्भीर भए पश्चात बिरामीलाई नाेबेल अस्पताल पठाएकोमा उक्त अस्पतालमा मृत्यु भएकाे उनीहरूकाे भनाई छ । मृतक पक्षले बिरामीकाे मृत्यु सप्तकाेशी न्यूराेकाे लापरबाहीबाट भएकाे आराेप लगाएकाे छ ।
उपचारमा संलग्न अस्पतालका चिकित्सक सहितकाे टिमकाे लापरबाहीले आफ्नाे बिरामीकाे ज्यान गएकाे दावी गर्दै घटना छानबिन माग समेत गरेकाे छ । प्रहरीमा उजुरी समेत दिइएको छ । उता साे आराेपलाई भने सप्तकाेशी न्यूराे अस्पतालले इन्कार गरेकाे छ । अस्पतालले दिएकाे जानकारी अनुसार घाइतेलाई हात, खुट्टा र टाउकाेमा चाेट लागेकाे अवस्थामा उपचारमा ल्याइएको थियाे । साेही अनुसार आवश्यक उपचार गरिएको उसले जनाएको छ ।
थप उपचारका लागि बिरामीलाई नाेबेल अस्पताल पठाइएकाे जनाएकाे सप्तकाेशी न्यूराे अस्पताल प्रशासनले बिरामीको उपचारमा कुनै लापरबाही नभएकाे स्पष्ट पारेको छ । पाेष्टमाटम रिपोर्टले सबै आशंका हट्ने सप्तकाेशी न्यूराेकाे दाबी रहेकाे छ । प्रहरीले दुर्घटना गराउने गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अघि बढाइएकाे जनाएकाे छ । प्रसाईं सवार गाडी काेशी ब्यारेज तर्फ जाँदै थियाे । साेही क्रममा माेसालाई ठक्कर दिएकाे थियाे ।








