मिकाइल आलम
इनरुवा । मेडिकल ब्यवसायी दुर्गा प्रसाईं सवार गाडीकाे ठक्करबाट घाइते कोशी गाउँपालीका वडा नम्बर ३ का स्थानीय फुलेश्वर मेहताको उपचारमा लापरवाही भएको सप्तकोशी न्युरो अस्पताल प्रशासनले अनौपचारिक तवरबाट गल्ती स्विकार गरेको छ । प्रहरीका अनुसार प्रसाईं सवार बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले कात्तिक २५ गते काेशी ३ स्थित नहर चाेकमा २ वटा माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करबाट दुईजना घाइते भएकाेमा काेशी ३ का ६० वर्षिय फुलेश्वर मेहताकाे शुक्रवार उपचारका क्रममा मृत्यु भएकाे हाे ।

मृतक परिवारका अनुसार दुर्घटना लगत्तै बिरामीलाई दाहिने खुट्टा र हातमा चाेट लागेकाे अवस्थामा भाेक्राहा नरसिंहमा रहेकाे सप्तकाेशी न्यूराे अस्पतालमा भर्ना गरिएकाे थियाे । सामान्य रहेका बिरामीको थप उपचार गर्नुपर्ने भन्दै अस्पताल टिमले अप्रेसन कक्षमा लगेकाेमा बिरामीकाे अवस्था बिग्रेकाे भनी जानकारी गराएकाे मृतक पक्षकाे भनाई छ । सप्तकाेशी न्यूराेले बेहाेस गराउने ओैषधीकाे मात्रा बढी चलाउँदा बिरामीको अवस्था गम्भीर भएकाे र साेही कारण मृत्यु भएकाे मृतक पक्षकाे दाबी रहेकाे छ । अवस्था गम्भीर भए पश्चात बिरामीलाई नाेबेल अस्पताल पठाएकोमा उक्त अस्पतालमा मृत्यु भएकाे उनीहरूकाे भनाई छ ।

आफ्नै बदमाशी स्विकारोक्ती
उपचारका क्रममा शुक्रवार घाइते मेहताको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले शनिवार बिहानै राजमार्ग अवरुद्ध गर्दै आन्दोलित हुने तयारी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी अध्यक्ष ऐयुब अन्सारीलाई शान्तीपुर्ण तवरबाट घटना मिलाउन आग्रह गरेको थियो । घटनाबारे पीडित र सुनसरी प्रशासनसँग निरन्तर सम्पर्कमा रहेका अध्यक्ष अन्सारीले दुवै पक्षलाई छलफलमा बोलाई पूर्व राज्यमन्त्री सिताराम मेहता, देवकृष्ण उर्फ गोवर्धन यादव लगायत दुवै पक्षका मुख्य मुख्य व्यक्तिहरु लाई उपस्थित गराएर सहमतिको प्रयास थालेका थिए । यद्यपि भोक्रहा नरसिंह ४ अवस्थित रहेको सप्तकोशी न्युरो अस्पताल प्रशासन भने सुरुमा आफ्नो बदमाशी स्विकार नगरी मृतक परिवारलाई सहयोग स्वरुप तीन लाख रुपैयाँ दिने भनेपछि एकछिन माहोल तातिएको थियो ।

यस्तो थियो पीडित पक्षको माग
उपचारका क्रममा घाइते मेहताको मृत्यु भएपछि उनका परिवार तथा आफन्तले उपचारमा लापरवाही गर्ने स्वास्थ्यकर्मी लाई निष्पक्ष छानबीन गरी दोषी देखिनेलाई कडा कारबाही हुनुपर्ने एक सुत्रीय माग राखेका थिए । “हामीलाई न्याय चाहिएको छ, आज सप्तकोशी न्युरो अस्पतालको लापरवाहीले मेरो परिवारले अभिवावक गुमाउनु परेको छ” मृतक मेहताका एकजना परिवार सदस्यले छलफलको क्रममा भने “हामी चाहदैनौं भोलि यस्तो घटना कोहि कसैको परिवारसँग होस् यसको लागि लापरवाही गर्ने स्वास्थ्यकर्मी लाई कारबाही हुनुपर्छ ।” जनप्रतिनिधीको नेतृत्वमा पीडित, पीडक, राजनीतिज्ञ तथा सामाजिक अगुवाहरुको छलफलमा अस्पताल प्रशासनबाट उपचारको क्रममा गम्भिर लापरवाही भएको निचोड निकाल्दै अस्पताल प्रशासनले पीडित पक्षलाई २५ लाख क्षतिपूर्ति, दुई जनालाई रोजगारीको ग्यारेण्टी र मृतकका परिवार सदस्य लाई निशुल्क उपचारको व्यवस्था हुनुपर्ने माग राखिएको थियो ।

जसमा अस्पताल प्रशासनले रोजगारी र उपचारमा सहमति जनाएपनि क्षतिपूर्ति दिन आनाकानी गरेको पाइएपछि छलफल निष्कर्षबिहिन भएपछि मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल अगाडि केहि समय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । पछि अस्पताल प्रशासनले उपचारको क्रममा भएको लापरवाही बारे अनौपचारिक तवर बाट गल्ती स्विकार गर्दै आठ लाख क्षतिपूर्ति दिने मौखिक सहमति जनाएपछि दुई पक्षबीच कुरा मिलेको जनाइएको छ । यता सप्तकाेशी न्यूराे अस्पताल भने आफ्नो गल्ती स्विकार गर्न अझै तयार छैन । आवर कोशी डटकम सँग कुरा गर्दै अस्पतालका प्रमुख रामबाबु गिरीले उपचारको क्रममा मृत्यु भएका मेहताको परिवारलाई गल्ती स्विकार गरी क्षतिपूर्ति बापत पैसा उपलब्ध गराउने नभई सहयोग स्वरुप दिने सहमति भएको दाबी गरे ।











