काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताएका छन् ।
शर्माले सर्वोच्चको आदेशले ‘म नै राज्य हुँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि गरेको बताए । संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, आजको सर्वाेच्चको आदेश त्यसको विनम्र अस्वीकारोक्ति हो,’ उनले भने, ‘म नै राज्य हुँ भन्ने प्रधानमन्त्रीको शैली असंवैधानिक थियो भन्ने पुष्टि हो ।’
उनले कामचलाउ प्रधानमन्त्रीको सीमाका बारेमा पनि अदालतले रेखा कोरिदिएको बताए । ‘कामचलाउ प्रधानमन्त्री भइसकेपछि के गर्न मिल्छ वा मिल्दैन भन्नेबारे सर्वोच्चले रेखा कोरिदिएको छ । यो प्रधानमन्त्रीका लागि सिकाइ पनि हो,’ शर्माले भने ।










