इनरुवा । सुनसरीमा पेट्रोल पम्पबाट ग्राहक ठगीमा परेका छन् । जिल्लाको देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको पाइएको हो । कम परिमाणमा इन्धन बिक्री गरेर बढी परिमाणमा बेचेको पाइएको हो । उक्त घटना सार्वजनिक भएपछि पम्पमा शिलबन्दी गरिएको छ।
पाँच हजारको डिजेल किन्दा पाँच लिटर कम भेटिएपछि स्थानीयले गुनासो गरेका । पेट्रोल पम्पले ग्राहक ठगिरहेको गुनासो आएपछि नेपाल आयल निगमका प्राविधिकले उक्त पेट्रोल पम्पलाई शिल गरेका हुन् ।
आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पको चेकजाँच हुने र नापतौलका औजारको अवस्था जाँच गरिने भए पनि उक्त पम्पमा प्राविधिक समस्या देखिएको हो । पम्प सञ्चालक दीपनारायण भगतले मेसिनरी उपकरण कहिलेकाहीं बिग्रने सम्भावना हुने भएकाले समस्या भएको प्रतिक्रिया दिए ।








