मिकाइल आलम
इनरुवा । कलाकार तथा सामाजिक अभियन्ता उमर खान सुनसरी जिल्लामा सम्मानित भएका छन् । तेक्वान्दो खेल र आफ्नो कलाकारिता मार्फत राष्ट्र लाई विश्व माझ चिनाउन सफल भएको भन्दै उनलाई कोशी गाउँपालीकाको कार्यालय लौकही सुनसरीले बुधवार सम्मान गरेको हो । कोशी गाउँपालीका अध्यक्ष, गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति ऐयुब अन्सारीले कलाकार तथा खेलाडी उमर खान र उनको बुवा रोशन खानलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

सो अवसरमा कोशी गाउँपालीका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाल लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा बोल्दै अध्यक्ष अन्सारीले खेल मार्फत राष्ट्र लाई चिनाउन भूमिका खेल्ने खानलाई धन्यवाद दिदै आजका युवाहरुले उनीबाट सिक्नुपर्नेमा जोड दिए ।

उनले आफू गाउँपालीका अध्यक्ष भएपछि युवाहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न कार्यक्रमका साथै खेलकुदलाई प्राथमिकता दिएको जानकारी गराएका थिए । यसैगरी हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी र कोशी प्रदेश सभा सदस्य तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश अध्यक्ष इस्राइल मन्सुरीले समेत उमर खानले गरेको कामको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।











