मिकाइल आलम
सुनसरी । आकर्षक कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गरेको अवस्थामा एकजना युवतीको उद्धार गरिएको छ । झापा जिल्ला शिवसताक्षी २ बस्ने १७ वर्षकि एकयुवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गरिएको अवस्थामा आइतवार बिहान सशस्त्र प्रहरीको सहयोगमा कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रले ति युवतीको उद्धार गरेको हो । उक्त युवतीलाई भारततर्फ लैजादै गरेको अवस्थामा शंका लागि सोधपुछ पछि भारत बिहार राज्यको सुपौल जिल्लाको बीरपुर बस्ने अन्दाजी २८ वर्षका नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने उज्जवल खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी पहलाद आलमले जानकारी दिए ।
कामको बहानामा ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीको सहयोगमा बेचबिखनमा परेकी युवतीको उद्धार गर्न सफल भएको उनको भनाइ छ । यता पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन चलखेल भईरहेको आरोप बाहिरिएको छ । पक्राउ परेकाहरु लाई मुद्दा न चलाउने भन्दै प्रहरीको नाममा केही व्यक्तिले रकमको बार्गेनिङ्ग गरिरहेको भन्ने आरोप बाहिरिएको हो । यसअघि पनि कतिपय युवती लाई कामको प्रलोभन दिएर भारततर्फ लगिएको श्रोतको भनाई छ ।
यता यसबारे प्रतिक्रिया दिदै सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भईरहेको बताउदै पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिए । प्रहरी श्रोतका अनुसार उद्धार गरिएकी युवतीलाई आइतवार नै अभिभावकको जिम्मा लगाइएपनि पीडित पक्षबाट हालसम्म उजुरी परेको अवस्था छैन । आरोपित लाई छुटाउन चलखेल भईरहेको भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक तिम्सिनाले पीडित पक्षले जाहेरी दिएमा र आरोप अनुसार पक्राउ परेका व्यक्तिहरु दोषी देखिएमा कानुन अनुसार कारबाही गरिने विश्वास व्यक्त गर्दै प्रहरीको नाममा कोहि कसैले रकमको बार्गेनिङ्ग गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएका छन् । नेपालबाट विभिन्न प्रलोभन देखाएर लाने विभिन्न उमेर समूहका बालबालिका इट्टा भट्टा, तरकारी खेतीमा लगाउने गरिएको छ भने युवावर्गलाई शारीरिक बन्धक बनाई होटेल, रिसोर्ट, वेश्यावृती लगायतका काम लगाउने गरिएको बताइएको छ । मानव बेचबिखनका घटना बढेपछि कोशी गाउँपालीकाको कार्यालयले सीमा नाकामा सूचना केन्द्र स्थापना गरी निगरानी गर्दै आएको छ ।









