सुनसरी । एकजना निर्दोष व्यक्तिलाई नाम मिलेकै आधारमा सुनसरी प्रहरीले जेल चलान गरेको पुष्टि भएको छ । लागूऔषद मुद्दामा जिल्ला प्रहरी कार्यालय सुनसरीले निर्दोष व्यक्ति लाई पक्राउ गरी जेल चलान गरेको प्राप्त जानकारी अनुसार आवरकोशी डट कम लगायतका संचारमाध्यममा समाचार आएपछि भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ८ बस्ने मुमताज अन्सारी शुक्रवार रिहा भएका छन् ।
सुनसरी प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरी जेल चलान गरेपछि निर्दोष भएपनि उनी २० दिन जेल बस्नुपरेको पारिवारिक श्रोतले गुनासो गरेका छन् । निर्दोष व्यक्ति लाई गर्दै नगरेको कसुरमा फसाइएको गुनासो प्राप्त भएपछि गत सोमबार कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी र जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता रामप्रसाद तिमिल्सिना लगायतको टोलीले जेल चलान गरिएका अन्सारी निर्दोष व्यक्ति हो वा होइन भन्ने बारे यकिन गर्ने जनाएका थिए ।

भुलवश सुनसरी प्रहरीले निर्दोष व्यक्ति लाई पक्राउ गरी जेल चलान गरेकोमा दुख व्यक्त गर्दै स्थानीयबासीले उप्रान्त यस्ता त्रुटि नगर्न आग्रह गर्दै वास्तविक दोषी पहिचान नगरी निर्दोष व्यक्ति लाई फसाउने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।२०६६ सालमा लागूऔषद ओसारपसार गरेको भन्दै जिल्ला अदालत सुनसरीले सोहि स्थान बस्ने मुमताज मियाँ अन्सारीलाई दुई वर्ष कैद र एक लाख जरिबानाको फैसला गरेकोमा सुनसरीले नाम मिलेकै आधारमा मुमताज अन्सारीलाई पक्राउ गरी जेल चलान गरेका थिए ।










