सिमेन्ट उद्योगहरूले मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गरेको आरोपमा सुनसरी र मोरङका हार्डवेयर व्यवसायीहरू आन्दोलित भएका छन्। व्यवसायीहरूले उद्योगको सिन्डिकेट विरुद्ध कडा विरोध जनाउँदै पसल बन्द गरेका छन् भने सिमेन्ट बिक्री र अर्डर गर्नबाट हात झिकेका छन्।

सुनसरी हार्डवेयर व्यवसायी संघर्ष समितिका संयोजक माधव पाठकका अनुसार, सुनसरी जिल्लाभरका व्यवसायीहरूले भोलीदेखि पसल खोल्ने भए पनि सिमेन्ट विक्री नगर्ने निर्णय गरेका छन्। “व्यवसायीहरूमाथि सिमेन्ट उद्योगहरूले अन्याय गरेका छन्। अब हामी उद्योगलाई झुक्याउन दिँदैनौं,” उनले भने।

विराटनगर हार्डवेयर संघले बिहीबार सूचना जारी गर्दै अर्को निर्देशन नभएसम्म सिमेन्ट अर्डर नगर्न आग्रह गरेको छ। संघका सचिव जीतेश कोइरालाले उद्योगले सिमेन्टको मूल्यमा मनपरी वृद्धि गरेर उपभोक्तालाई शोषण गरिरहेको आरोप लगाए।
संघका अध्यक्ष प्रमोद जिन्दलका अनुसार, पछिल्लो दुई महिनामा सिमेन्टको प्रति बोरामा रु. २७५ ले मूल्यवृद्धि भएको छ। “डिजेल, कोइला, क्लिङकर लगायतका सामग्रीको मूल्य र आपूर्तिमा समस्या छैन, तैपनि सिमेन्ट उद्योगहरूले उत्पादन कटौती गरेर कृत्रिम अभाव सिर्जना गरेका छन्,” जिन्दलले भने ।

सुनसरीका हार्डवेयर व्यवसायी फैजान अन्सारीले ५०० रुपैयाँमा पाइने सिमेन्ट अहिले ८५० रुपैयाँमा बिक्री भइरहेकामा आपत्ति जनाउँदै सिन्डिकेटले आम उपभोक्तालाई शोषण गरेको बताए। उनले भने, “यो समस्या समाधान नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छौं।” धरान, इटहरी र इनरुवाका व्यवसायीहरू पनि आन्दोलनमा सामेल हुने तयारीमा छन्। हाल व्यवसायीहरूले मौज्दात सिमेन्ट बिक्री गर्ने भए पनि नयाँ सिमेन्ट खरिद नगर्ने सामूहिक निर्णय गरेका छन् । सुनसरी र मोरङ जिल्लाका हार्डवेयर संघका २५० भन्दा बढी सदस्यहरूले सिमेन्ट उद्योगको नीतिगत बेथितिको विरोध गर्दै संघर्षलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।








