सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशन सम्पन्न भएको छ । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनसहितको पूर्वाधार विकासको आधार’ मूल नारासहित कोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशन शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकता राखेर काम गरेको बताए । उनले कोशी गाउँपालिकाले गौरवका योजना अगाडि बढाएको बताउदै आफू सबै क्षेत्रको विकास लाई अवस्था र आवश्यकता अनुसार अघि बढाएको जानकारी गराएका थिए ।


हालसम्म आफ्नो नेतृत्वमा भइरहेका विकास निर्माण कार्यमा आफ्ना पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधी मात्रै नभई विकासमा सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एकैठाउँ भएको र आगामी दिनमा पनि
हुनुपर्नेमा जोड दिएका छन् ।

गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रम उपाध्यक्ष अनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले संचालन गरेका थिए ।

कोशी गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनको खुल्ला सत्रमा ३ नम्बर वडा अध्यक्ष सुलेमान मन्सुरी, ५ नम्बर वडा अध्यक्ष साह जमाल, नेपाली कांग्रेस महासमिती सदस्य मनोज साह, कोशी गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालीका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु, संचारकर्मी लगायत गरी सयौंको उपस्थिति रहेको थियो ।









