कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नवनिर्मित प्रहरी भवनको उद्घाटन गरेका छन् । बिहिवार आयोजित समुद्घाटन कार्यक्रमकाबीच प्रमुख अतिथी डिआईजी अधिकारीले नव-निर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको उद्घाटन गरेका हुन् । भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले प्रहरी चौकीको नव निर्मित भवनबाट आम नागरिकले प्राप्त गर्ने प्रहरी सेवा सहजता र सर्वसुलभ वातावरणमा उपलव्ध हुने तथा प्रहरीको दैनिकी समेत सहजरुपमा सम्पादन हुनेमा विश्वास व्यक्त गरे ।

भौतिक पुर्वाधारको अभावमा दैनिक प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर परेता पनि नागरिकमा प्रहरी सेवा उपलव्ध गराउदै आईरहेको प्रहरी चौकीले नव निर्मित भवन प्राप्त भए संगै प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ दुर्जनको लागि डर र सज्जनको लागि भर भई आम नागरिकहरुमा प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई डिआइजी अधिकारीले निर्देशन दिए ।
नव निर्मित भवनलाई आफ्नो घर सम्झेर नियमित सरसफाई, सौन्दर्यकरण, मर्मत सम्भार, उच्च व्यवस्थापनमा ध्यान दिन समेत कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै अधिकारीले भवन निर्माण कार्यको लागि नि:शुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाताहरु तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान गरे ।यस्तै सोहि कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले नव निर्मित भवनको निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए भने दुहवी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदार, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार राय, उपाध्यक्ष नितु कुमारी चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीले आ-आफ्नो मन्तव्य राखेका थिए । नेपाल प्रहरीका भौतिक संरचनाहरु नभएका प्रहरी ईकाईहरुलाई क्रमिक रुपले व्यवस्थित र गुणस्तरिय निर्माण गर्दै लैजाने क्रममा नेपाल सरकारको नियमित बजेटबाट उक्त प्रहरी चौकीको भवन २ करोड ४१ लाख २३ हजार ९६० रुपैयाको लगतमा निर्माण कार्य सम्पन्न भएको हो ।









