मिकाइल आलम
भण्टाबारी । खुला सीमा नाकाका कारण पूर्णरूपमा राजस्व चुहावट नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतवार सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले राजस्व नियन्त्रण गर्न भन्सार प्रशासन, सुरक्षाकर्मी, राजस्व नियन्त्रण कार्यालयले चाहेर मात्र राजस्व चुहावट नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको बताउदै त्यसमा सर्वसाधारणहरुको सहयोगको खाचो औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षाकर्मी, भन्सार प्रशासन र निजि क्षेत्र मिलेर राजस्व चुहावट नियन्त्रण गर्दै बढी भन्दा बढी राजस्व संकलन गर्नुपर्नेमा जोड दिए । राजस्व चुहाट रोक्न निर्देशन दिदै उनले भन्सार प्रशासन र निजी क्षेत्र मिलेर जानुपर्ने र त्यसमा भन्सार प्रशासनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने जोड दिए ।

निजी क्षेत्र र व्यापारी प्रतिनिधिहरुको समस्या बुझ्दै उनीहरूका जायज माग सम्बोधन गर्न भन्सार विभागले पहल गर्नुपर्नेमा जोड दिदै इनरुवा उधोग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र साहले निजी क्षेत्र,व्यापारी र भन्सार एक सिक्काका दुई पाटो भएकाले सोहीअनुसार सहकार्य हुनुपर्नेमा सुझाव दिए । भन्सार प्रशासनले राजस्व संकलनसँगै निजी क्षेत्र र किसानका समस्या समाधान गर्न थप सहजीकरण गर्नुपर्ने आवश्यकता रहेकोे उनको भनाइ छ ।

खुला सीमा नाकाका कारण हुँदै आएको राजस्व चुहावटमा नियन्त्रण गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए । सुरक्षाकर्मी र सर्वसाधारण लगायतसँगको सहकार्यबाट राजस्व चुहावट नियन्त्रण गर्न आफूहरु दत्तचित्त भएर लागेको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत राधेश्याम दाहालले बताए ।

सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत राधेश्याम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रम सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा सुनसरी प्रहरी प्रमुख सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी प्रमुख समेन्द्र वज्राचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख तुलसी कट्टेल, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भण्टाबारीका डिएसपी सुमन पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।











