लौकही । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी मनाइने फागु अर्थात् होली पर्वको पूर्वसन्ध्यामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालीकाको कार्यालयले होली पर्वको पूर्वसन्ध्यामा मंगलवार आयोजना गरेको होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा आयोजना गरी होली मिलन कार्यक्रममा लामो समयदेखि राजनीतिकमा आवद्ध रही समाज सुधारमा उल्लेखनीय योग्दान पुर्याएका व्यक्तिहरुलाई पनि सोहि अवसरमा सम्मान पत्र सहित सम्मानित गरिएको छ ।

त्यसरी सम्मानित हुनेहरुमा पूर्व कृषि मन्त्री नन्दन कुमार दत्त, हाल कोशी गाउँपालीका तथा साविक हरिपुर, श्रीपुर गाविसका तत्कालीन प्रधानपञ्चहरु भुवनेश्वर यादव, नईम मन्सुरी, देवनारायण बहरखेर सहित २०७८ सालदेखि २०७९ सालसम्म सुनसरी जिल्लामा सशस्त्र प्रहरी प्रमुख भई तत्कालीन समयमा लागू औषद नियन्त्रण लगायत उत्कृष्ट कार्य सम्पादन गरेका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाई सम्मानित भएका हुन् ।

राजनीतिमा लागेर समाज सुधारको लागि उहाँहरुले दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सम्मानित गर्न पाउँदा गौरवान्वित महसुस भएको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको भनाइ छ ।

सम्मानित भएपछि आफ्नो मन्तव्य राख्दै पूर्व कृषि मन्त्री नन्दन कुमार दत्तले ऐयुब अन्सारी जस्ता युवा नेतृत्वको आवश्यकता रहेको बताउदै अन्सारीले सबै जातजाति, समुदाय र वर्गका व्यक्तिलाई समेटेर अगाडि बढेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुखहरु, कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष अजमल अख्तर आजाद लगायत सयौंको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।











