सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका लागू औषधसहित ठूलो परिमाणमा निषेधित औषधि बरामद गरेको छ। आर्थिक वर्ष ०८१ श्रावणदेखि असार मसान्तसम्ममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले उल्लेखनीय सफलता हासिल गरेको हो ।
गणको वार्षिक विवरणअनुसार, सो अवधिमा सर्वाधिक परिमाणमा गाँजा बरामद भएको छ। कुल ६ हजार ७ सय ६ दशमलव ३ के.जि. गाँजा नियन्त्रणमा लिइएको छ। यस्तै, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ४५ हजार ४ सय ६० थान, ट्रामानिल १८ हजार ४ सय ५० थान, नाईट्रोजेपाम ट्याबलेट ४ सय ९८ थान, नाईट्राेजन ट्याबलेट १०, र नाईट्रोभेट ट्याबलेट १४ थान बरामद गरिएका छन्। साथै, ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ११२ दशमलव ९७ ग्राम र चरेस जस्तो देखिने पदार्थ २ दशमलव ६ ग्राम पनि फेला परेको जनाइएको छ।
अन्य बरामद लागू औषधहरूमा स्पास्मो प्रोक्सीभन ट्याब्लेट ३०४ थान, डाईक्लोमाइन हाइड्रोक्लोराइड क्याप्सुल १ हजार ४ सय थान, Promethazine Hydrochloride Injection ३८ भाइल, बुप्रेनोर्फिन ३५ भाइल, Diazepam Injection ४ भाइल, Ceftazidime for Injection ५ सय डोज, ICE Drugs १.०१ ग्राम, र Pheniramine maleate injection ३ भाइल रहेका छन्।
सशस्त्र प्रहरीले बरामद गरेका अन्य औषधिहरूमा ESKUF Syrup ८४ बोतल, कोरेक्स १ बोतल, एभिल इन्जेक्सन ४ थान, फेनारागन एम्पुल र हाईजापाम ३५/३५ थान बरामद गरेको हो । यसैगरी मोटरसाइकल १५ वटा, स्कारपियो/ बोलेरो पिकप सफारी लगायतका ५ वटा, २ वटा कार, २ वटा अटाे, २ वटा साइकल र २ वटा ट्रकलाई नियन्त्रणमा लिएको भने ६४ जना व्यक्तिहरुलाई पक्राउ गरिएको जनाएको छ ।
त्यसैगरी गण तथा मातहत सुरक्षा बेस, गुल्म र बिओपीहरूले आर्थिक वर्ष २०८१/०८२ मा चोरीका सामानहरू बरामद गरी रु ६ करोड ९० हजार ३ सय ९२ रुपैयाँ बराबरको राजस्व दाखिला तथा नष्ट गरिएको विवरण सार्वजनिक गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर सुनसरीका गणपति प्रहरी उपरीक्षक एसपी निर्मल थापाले सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषधको ओसारपसार नियन्त्रण गर्नु प्रमुख चुनौती भएको बताउनुभयो। “सीमा क्षेत्रमा निगरानी कडा पार्नका साथै स्रोत सूचना प्रणालीमा सशस्त्र प्रहरी बललाई सक्षम बनाउँदै गएका छौं,” वहाँले भन्नुभयो, “हामी स्थानीय तह, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर कार्य गरिरहेका छौं।”
एसपी थापाले लागू औषध कारोबारले युवामा गम्भीर असर पार्ने भएकाले यसप्रति समुदाय स्वयं पनि सचेत र सहयोगी बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “हामीले यस वर्ष उल्लेखनीय मात्रामा लागू औषध नियन्त्रण गरेका छौं,” वहाँले थप्नुभयो, “अभियानलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने योजना छ।”
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर सुनसरीले सीमावर्ती क्षेत्रहरूमा निगरानीलाई थप कडा बनाउँदै लागू औषध तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ। लागू औषध नियन्त्रणको अभियानलाई आगामी वर्षमा अझ प्रभावकारी बनाइने गणपति थापाले बताउनुभयो ।










