सुनसरी । केही दिनयता सामाजिक सञ्जालमार्फत आफ्नो विरुद्ध भइरहेको भ्रामक प्रचारबाजी प्रति भोक्राहा नरसिंह गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष आलम अन्सारीले आपत्ति जनाएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अस्लील शब्द, कृत्रिम बुद्धिमत्ता (AI) को दुरुपयोग, र मनगढन्ते सामग्री प्रयोग गरी मेरो राजनीतिक तथा सामाजिक छवि धुमिल पार्ने षड्यन्त्रपूर्ण गतिविधि गरेको भन्दै आपत्ति जनाएका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्षका रूपमा मैले जनताको माया, भरोसा र समर्थन प्राप्त गरी लगातार तेस्रो पटक निर्वाचित हुने अवसर पाएको भन्दै वडा अध्यक्ष आलम अन्सारीले पछिल्लो समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत अस्लील शब्द, कृत्रिम बुद्धिमत्ता (AI) को दुरुपयोग, र मनगढन्ते सामग्री प्रयोग गरी मेरो राजनीतिक तथा सामाजिक छवि धुमिल पार्ने षड्यन्त्रपूर्ण गतिविधि गरेको उक्त प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले गरिएको हरेक दुष्प्रचार निराधार, असत्य र कपोलकल्पित हो’ उनले प्रेस विज्ञप्तिमा उल्लेख गर्दै ‘विगतदेखि नै वडावासी जनताको सेवामा समर्पित छु र भविष्यमा पनि निरन्तर जनसेवामा अडिग रहनेछु।’ वडाको समग्र विकास, जनताको समस्या समाधान, र राजनीतिक तथा सामाजिक प्रतिष्ठा उच्च राख्नु मेरो पहिलो दायित्व हो।’ वडा अध्यक्ष अन्सारीले भनेका छन् ‘यस्ता गलत र भ्रामक गतिविधिहरू लोकतन्त्रको आत्मामा आघात पुर्याउने कार्य हुन्, जसलाई म दृढतापूर्वक खण्डन गर्दछु ।’हाल चर्चामा आएको voice record मेरो नभई कृत्रिम रूपमा AI प्रविधि प्रयोग गरेर बनाइएको हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ। सो रेकर्डमा महिलाको आवाज पनि नभएको स्पष्ट छ। प्रविधिको दुरुपयोग गरी जनप्रतिनिधिको चरित्र हत्या गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको देखिन्छ, जसले लोकतान्त्रिक संस्कृतिलाई क्षति पु-याउने काम मात्र गर्दछ।’
उनी अगाडि थप्दै भन्छन् ‘म खुला चुनौतीका साथ भन्न चाहन्छु, त्यो रेकर्ड पहिलो पटक ‘फेक’ (बोल्न दे सरकार) नामक सामाजिक सञ्जालको आइडीमार्फत पोस्ट गरिएको हो। उक्त व्यक्तिले केही छिनमै भिडियो सार्वजनिक गर्ने दाबी गरे पनि आजसम्म (३ दिन बितिसक्दा) सार्वजनिक गर्न नसकेको हकीकतबाटै उक्त सामग्री चरित्र हत्या गर्ने साधनका रूपमा प्रयोग भएको स्पष्ट हुन्छ।’कतिपय सञ्चारमाध्यमहरूले पनि तथ्य पुष्टि नगरी सोही रेकर्डलाई तोडमोड गरी प्रस्तुत गरेको देखिएको छ। यसप्रति म गम्भीर आपत्ति प्रकट गर्दै वडावासी र आम नागरिकलाई सत्यतथ्य जानकारी गराउन चाहन्छु।’ वडा अध्यक्ष अन्सारीले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।