बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्युटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामानहरू नेपाल ल्याइएको भन्ने सूचना सशस्त्र प्रहरीले पायो ।

मध्यराति सडकमा सशस्त्र प्रहरीको उपस्थिति देखेपछि तस्करीको सामान ल्याउँदै गरेका रिक्साहरू भाग्न खोजे । सशस्त्र प्रहरीले पिछा गर्यो । जवाफमा तस्करीको समान ल्याएका तीन वटा रिक्सामध्ये एक रिक्साबाट गोली चल्यो । तस्करको समूहबाट मध्यराति गोली चलेपछि सुरक्षाकर्मीले असुरक्षित महसुस गरे ।आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो । सुनसरी घटनाबारे जानकारी लिँदा कोशी प्रदेशको बराह बाहिनी पकलीका प्रमुख तथा डीआईजी कुमार न्यौपाने यी नै दलिलहरू गरे ।
‘उताबाट सुरुमा फायर भयो । कसैलाई लागेन, केही भएन । यताबाट आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो,’ न्यौपानेले दाबी गरे । तस्करको समूहबाट सुरुमा गोली चलेको दाबी गरेपछि डीआईजी न्यौपानेलाई हतियार बरामद भए/नभएको भन्नेबारे जिज्ञासा राख्दा उनले हतियार बरामद नभएको जवाफ दिँदै भने, ‘फायर गर्ने भागी हाले । अनि हतियार बरामद हुने अवस्था रहेन ।’

मध्यराति सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भयो । सशस्त्रले दुर्घटना भनेको यो प्रकरणमा मारिएका साह अटो रिक्सा चालक हुन् । उनलाई समान बोक्नका लागि कसैले भाडामा रिक्सा लगेको हुनुपर्ने बताइएको छ । सशस्त्रले तस्करको समूहले गोली चलाएको दाबी गरे पनि यसको यकिन पुष्टि भने भएको छैन । आफ्नो गल्तीलाई छोप्न अर्को पक्षको गल्ती देखाएर चोख्याउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।
अनावश्क रूपमा गोली चलाइएको, त्यो पनि लापरबाही तरिकाले गोली चलाउँदा छातीमै लागेको भन्दै सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । तस्करीको १० बोरा चिनी नियन्त्रणमा लिन सशस्त्रले जुन किसिमको बल प्रयोग गरेको त्यो आवश्यक नरहेको बताइन्छ । घटनापछि तनावग्रस्त बनेको सुनसरीमा सडकमै शव राखेर स्थानीयले प्रदर्शन गरेका थिए ।









