इनरुवा । १४ औं महाधिवेशन नजिकिदै जाँदा नेपाली काङ्ग्रेस सुनसरीमा सरगर्मी बढ्दै गएको छ । केहीदिन अगाडि समाजिक संजाल फेस्बुकमार्फत नेपाली काङ्ग्रेस सुनसरीका वर्तमान सचिव केदार भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा उपसभापति संजय श्रेष्ठले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफू समेत सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।
नेपाली काङ्ग्रेस सुनसरी जिल्लाको भावी नेतृत्वका लागि वर्तमान जिल्ला कार्य समितिका उपसभापति संजय श्रेष्ठ र सचिव केदार भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको पूर्व केन्द्रीय कोषाध्यक्षको समेत भुमिका निर्वाह गरिसकेका श्रेष्ठ सुनसरी काङ्ग्रेसका पुराना नेता हुन भने नेपाली काङ्ग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल भण्डारीले नेपाली काङ्ग्रेस सुनसरीको २ कार्यकाल निर्वाचित सचिवको भुमिकामा छन् । विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका केदार भण्डारी सुनसरी काँग्रेसमा सालिन, भद्र र बौद्धिक नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन ।

कानुन विषयका ज्ञाता रही पेशाले अधिवक्ता समेत रहेका भण्डारी नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष र सुनसरी बारको अध्यक्षको भुमिका समेत निर्वाह गरिसकेका छन । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिले महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन गरेसँगै सुनसरी जिल्लाको भावी नेतृत्वका लागि हाल जिल्लाको उपसभापति र सचिवको भुमिकामा रहेका श्रेष्ठ र भण्डारीले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
संचारकर्मीसँग कुराकानी गर्दै उपसभापति श्रेष्ठले आगामी अधिवेशनमा नेपाली काँग्रेस सुनसरीको सभापतिमा आफ्नो उम्मेदवारी रहने बताउदै आफू उम्मेदवार हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको कार्यकर्ता भएर वर्षौ सेवा गर्न पाउनु आफूहरूको अहोभाग्य भएको उल्लेख गर्दै उनीहरूले आफ्नो राजनीतिक जीवनको उचित मुल्यांकन गर्दै नेताकार्यकर्ताले सुनसरी काङ्ग्रेसको नेतृत्वमा पुर्याउनेमा उनीहरू विश्वस्त छन् । यी दुईजनासँगै जिल्ला उपसभापति प्रदीप चौधरी, प्रतिनिधिसभाका सांसद सीत राम मेहतासमेेत जिल्ला सभापतिमा दाबी गरेका छन् ।









