इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले नेपालभरकै पत्रकारहरुको हकहितका लागि आवाज उठाएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तर्गत रहेको प्रेस युनियन इनरुवाले कोरोना कहरका कारण पत्रकारिता क्षेत्रमा परेको असर न्यूनीकरण गर्न आवाज उठाएको हो ।
कोरोना कहरका कारण सवै क्षेत्र प्रभावित भईरहेको अवस्थामा पत्रकारिता क्षेत्र समेत यसबाट अछुतो रहन नसकिरहेको बताउदै नेपाल प्रेस युनियन इनरुवाका सभापति टोमराज मेहताले त्यहीँ कुरालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघलाई नविकरण छुट गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरेको बताए ।

नगर सभापति मेहताले कोरोना कहरका कारण कतिपय पत्रकारहरु समेत आर्थिक संकटमा परिरहेको समयमा नविकरण शुल्क छुटको माग राख्दै महासंघलाई ज्ञापन पत्र वुझाएका हुन । नेपाल प्रेस युनियन शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमत मार्फत केन्द्र , प्रदेस सचिव देवेन्द्र कार्की र जिल्ला अध्यक्ष जनक ऋषि राईलाई आइतबार ज्ञापन वुझाएको हो । सो ज्ञापन पत्रमा कोरोनाका कारण कतिपय पत्रकारहरुले ज्यान गुमाएको , कतिपय अझै सक्रमित रहेका तथा कतिपय पत्रकारहरुले रोजगारी गुमाएको कारण पत्रकारहरु समेत आर्थिक संकटमा परेकाले नविकरण शुल्क छुटको माग गरिएको उल्लेख छ । कोरोनाका कारण ज्यान गुमाउने पत्रकारहरु प्रति श्रद्धाञ्जली , सक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत ज्ञापन पत्रमा गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ईकबाल अहमदले ज्ञापनपत्र बुझ्दै विषय सान्दर्भिक र श्रमजीवी पत्रकारका पक्षमा रहेको कारण यसलाई कार्यान्वयन गराउन आफू केन्द्रिय समितिमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।








