इनरुवा । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली काङ्ग्रेसले सुनसरीमा दीप प्रज्वलन गरेको छ। सर्वोच्चले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै सोमबार साँझ नेपाली काङ्ग्रेसले दीप प्रज्वलन गरेको हो ।
इनरुवा,कोशी,हरिनगर,इटहरी,बराहक्षेत्र,भोक्राहा नरसिंह,देवानगंज लगायत जिल्लाका अन्य विभिन्न स्थानमा जम्मा भई नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएसँगै सुनसरीमा नेपाली काङ्ग्रेसले दीप प्रज्वलन सहित विजयी जुलुस निकालेको हो । अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसमेत गरेको फैसलाको भव्यतापूर्वक स्वागत गरिएको हो।

जुलुस प्रदर्शनका क्रममा नेविसंघ, नेपाल तरुण दल लगायतका संंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले संविधान र प्रजातन्त्र सर्वोच्चले बचाएको र ओलीको निरङ्कुशतालाई परास्त गरेकोमा खुशी व्यक्त गरेका थिए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले केपी ओलीको प्रतिगमन सम्मानित सर्वोच्चले परास्त गरेको भन्दै अब विपक्षी गठबन्धनको नेतृत्व गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा गरी बिधिको शासन स्थापित गराएर अगाडि बढ्ने बताए । नेपाली काङ्ग्रेस पार्टीका नेताकार्यकर्ताले सर्वोच्च अदालतको निर्णयअनुसार कुर्सी खाली गर्न वर्तमान प्रधानमन्त्री केपी ओली आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नैतिकताका आधारमा राजिनामा दिइनुपर्नेमा जोड दिए ।








