सुनसरी । राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको कुनैपनि धारा उल्लेख नगरी ‘सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको भन्दै नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शपथ लिन आनाकानी गरेका छन् ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म शपथग्रहण नहुने बताएका हुन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका छन् ।
आफू संसदीय दलको नेताको रुपमा प्रम नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । विज्ञप्तिबारे विवाद भएपछि देउवा अहिले बूढानीलकण्ठ निवासमा नै रहेका छन् । साँझ ६ बजे हुने भनिएको शपथ कतिबेला हुने भन्ने अझै टुंगो लागेको छैन् ।








