काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठुलो पर्व “इदुलअजहा”(बकरईद) को अवसरमा सार्वजनिक विदा दिनुपर्ने नेपाल मुस्लिम संघले राखेको मागअनुसार सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मुस्लिम समुदायको धार्मिक ,सांस्कृतिक आस्थासँग गाँसिएको महान पर्व “इदुलअजहा”(बकरईद) २०७८ श्रावण ६ गते हुने भन्दै मुस्लिम संघले सो दिन विदाको मागसहित गएको बिहीबार सरकारको ध्यानाकर्षण गराएकोमा आज सोमबार बसेको मन्त्रीपरिषदको बैठकले बिदा स्वीकृत गरेको हो ।
मुस्लिम समुदायको चाडपर्वका दिन सार्वजनिक विदा रहँदै आएकोमा केपी ओली नेतृत्वको संघीय सरकारले विदा कटौती गरेको बताउदै नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष डाक्टर इस्राइल मन्सुरीले नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारको अगुवा तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरीको सहयोग तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको विशेष पहलमा बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । मुस्लिम समुदायको पर्व ईद,बकरलगायतका दिन भावी वर्षेनि विदाको लागि ध्यानाकर्षण गराइरहनुपर्ने अवस्था अन्त्य गर्नसमेत नेपाल मुस्लिम संघले माग गरेको छ ।








