इनरुवा । कोभिड -१९ को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै सुनसरी प्रहरीले सचेतना अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले कोरोना संक्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईंको माक्स खोइ ? भन्ने अभियान सुरु गरेको हो ।

सुनसरी प्रहरीले सदरमुकाम इनरुवा बजारमा घरदैलोसहित कोरोना सम्वन्धी जानकारीमूलक पर्चा, पम्पलेट, माइकिङ गर्दै रोगबाट सुरक्षित हुन आग्रह गरेको छ । माक्स नलगाई हिँड्ने पैदल यात्रुसहित सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई माक्स सहित अबका दिनमा असुरक्षित यात्रा नगर्न सुझाव दिएको जिल्ला प्रहरी कार्याल सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए ।

प्रहरीले सदरमुकाम इनरुवा मात्रै नभएर जिल्लाका मुख्य बजार तथा चोक चोकमा पनि सचेतना फैलाएको सुनसरी प्रहरीले जानकारी गराएको छ । पहिलो र दोस्रो कोरोना भेरियन्टमा अत्यन्तै जोखिम मोलेको सुनसरीलाई बेलैमा सचेतना मार्फत नागरिकको स्वास्थ्य सुरक्षाबाट सुरक्षित राख्न प्रहरीले अभियान थालेको एसपी थापाको कथन छ ।







