इनरुवा । सुनसरीबाट विभिन्न मुद्दामा अदालतले कैद र जरिवाना फैसला गरेका लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन् । सुनसरीमा नयाँ प्रहरी प्रमुखका रूपमा एसपी संजयसिंह थापा आएपछि फरार अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएपछि उनीहरू पक्राउ परेका हुन ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार एकै दिन ८३ जना फरार अभियुक्तलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए । सुनसरी जिल्ला अदालतबाट विभिन्न समयमा फैसला भएका मुद्दामा तोकिएको कैद वा जरिवाना फर्छ्योट नगरी फरार रहेकाहरु मध्ये भदौ ९ गते बुधबार ८३ जनालाई पक्राउ गरी सम्मानित अदालतमा पेश गरिएको उनले बताए ।
फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जनासहित गरी चालु आर्थिक वर्षमा ३८३ जना फरार अभियुक्त पक्राउ गरिएको बताउदै उनले सम्मानित अदालतको अभिलेखमा वेरुजु कायम रहेको कैद सजाय मध्ये ८० वर्ष २ महिना २३ दिन र चौध लाख उन्नासी हजार पाँचसय जरिवाना असुल फर्छ्योट भएको बताए ।
पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टचारलगायत मुद्दाका फरार अभियुक्त छन् । अपराध गरेर जति भागे पनि, जति दिन फरार रहेपनि कानुनले छाडदैन भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ गर्न सक्रियताका साथ लागिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








