इनरुवा । सुनसरीमा नेपाली काङ्ग्रेसको क्रेज बढ्दै गएको छ । शनिबार नेपाली काङ्ग्रेसले इनरुवा नगरपालिका ९ स्थित बबियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरी दर्जनौं व्यक्ति काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले परित्याग गरी हारुन खानको नेतृत्वमा आएका दर्जनौं नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद,कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की,संघीय सांसद सिताराम मेहता, प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला,सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी मियाँ,नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरी लगायतले नव प्रवेशीहरुलाई काङ्ग्रेसमा प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेसका नेता तथा मन्त्री कार्कीले भने “देशको सच्चा सिपाही नेपाली काङ्ग्रेस मात्र हो । अब जनतालाई सहि मार्गदिशा, युवालाई रोजगार जस्ता स्वदेशमै रोजगार मात्र काङ्ग्रेसले सृजना गर्छ ।”– उनले भने । सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति ऐयुब अन्सारीले कम्यूनिष्टले संसद विघटन गरेर संविधानमाथि प्रहार गर्न खोजेपनि शेरबहादुर देउवा नेतृत्वको नेपाली काङ्ग्रेस पार्टी संविधानको रक्षा गर्दै देशलाई खतराबाट बचाएको बताए । निर्वाचनका बेला जनतालाई झुठो प्रलोभन देखाएर आफूलाई कम्युनिस्ट भन्नेहरुले अध्यादेश मार्फत आफूखुसी ऐन बनाएर जनतालाई दुख दिने काम मात्रै गरेकाले त्यस्तालाई अब चिन्नु जरुरी रहेको अन्सारीको भनाइ छ ।








