लौकही । नेपाली काङ्ग्रेसको कोशी गाउँपालीकाको सभापति पदका लागि पाँचजनाले दाबी गरेकोमा सहमतिबाट नै सभापति चयन गर्ने कसरत भइरहेको छ ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले कोशी सभापति सहमतिको आधारमा चयन गर्ने कसरत भइरहेको बताए ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोशी गाउँपालीकाको सभापति पदका लागि कोशी गाउँपालीका वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी, कोशी गाउँपालीका वडा नम्बर ५ का वडाध्यक्ष शाहजमाल, वाजुद्दिन मन्सुरी,शिवनारायण बहरखेर र गोसाइ यादवले दाबी गरेका छन् । यसैगरी दुईजना उपाध्यक्ष पदका लागि छ जनाले दाबी गरेका छन् भने दुईजना सचिव पदका लागि सात जनाले नै दाबी गरेका छन् ।
उपाध्यक्ष पदका लागि धर्मेन्द्र विश्वास, कवातुल्ला मियाँ, रघुनाथप्रसाद देव, महम्मद अख्तर अली, लक्ष्मी यादव र ललित मण्डलले उम्मेदवारी प्रस्तुत गरेका छन् । त्यसैगरी सचिव पदका लागि निर्मलकुमार मण्डल, हजरत मन्सुरी, सूर्यनारायण मण्डल, रामकिशुन यादव,अमरेन्द्र मेहता,गोविन्द मेहता र ध्यानी उराँवले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसैगरी दुईजना सहसचिव पदका लागि सन्तोषकुमार यादव, जगदीश कामैत, निरनजन मण्डल र विद्यानन्द मण्डलले दाबी गरेका छन् । आफू सबै पक्षलाई समेटेर सबैको प्रतिनिधित्व हुने गरी नयाँ कार्यसमिति छनोट गर्न लागिपरेको सभापति अन्सारीले जानकारी दिए । ´जनतामाझ बसेर जनताको काम गर्ने व्यक्ति सर्वसहमत तरिकाले ल्याउने बारे हामीले निरन्तर छलफल गरिरहेका छौं उनले भने मलाई आशा छ अन्य साथीहरूले समेत त्यसमा सहयोग गर्नुहुन्छ र एक एक दुईदिनमै निष्कर्षमा पुग्छौं ।`








