इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा युवाको वर्चस्व रहने देखिएको छ । नेपाली काङ्ग्रेसको नगर अधिवेशन अन्तर्गत असोज ९ गते शनिबार सम्पन्न भएको नयाँ कार्य समिति चयनको लागि निर्वाचनको सुरुवाती मतपरिणामले इनरुवामा युवाको वर्चस्व रहने देखिएको हो ।

सभापति बाहेक अन्य पदाधिकारीहरुको पछिल्लो मतपरिणाम अनुसार इनरुवा नगरपालिकाको उपसभापतिमा २३२ मत ल्याई प्रदीप पौडेल र १८४ मत बिनिता दाहाल निर्वाचित भएकी छिन् ।

यसैगरी सचिव पदमा ४१६ मध्ये जम्मा खसेको ४१४ मतमध्ये २५९ मत ल्याई राकेश निरौला र २०८ मत ल्याई खेमराज थापा निर्वाचित भएका छन् भने सभापति पदमा सुरुवाती मतपरिणाम अनुसार इनरुवा नगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेस इनरुवा नगरपालिकाका सभापतिसमेत रहेका राजन मेहता अगाडि देखिएका छन् ।

मेहतालाई सितोष पोखरेल र योगेन्द्रप्रसाद मेहताले पछ्याउँदै छन् । इनरुवा नगर सभापतिमा राजन मेहता विजयी हुने धेरैले अनुगमन गरेका छन् ।








